‘विकास लक्ष्यको प्राप्ति मानवपुँजीमा निर्भर’
काठमाडौं, ०२ कार्तिक । विश्व बैंकले सन् २०३० सम्म लेखपढ गर्न नसक्ने बालबालिकाको संख्या आधा घटाउने लक्ष्य राखेको छ । जीवनको पहिलो १० वर्षमा लेखपढ गर्न नसक्ने बालबालिका नै विश्व गरिबीको कारक हुने विश्व बैंकले जनाएके छ ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)सँगको सहकार्यमा विश्व बैंकले तयार पारेको तथ्यांक अनुसार विपन्न (न्यून आय) र मध्यम आय भएका मुलुकमा ५३ प्रतिशत बालबालिकाले प्राथमिक तह पार गर्दासम्म सामान्य लेखपढ गर्न सक्दैनन् । विपन्न मुलुकहरुमा यो समस्या अझै भयावह ८० प्रतिशतसम्म छ । यो समस्या सन् २०३०सम्म दीगो विकास लक्ष्य हासिल गर्ने उद्देश्यमाथि जोखिम रहेको भन्दै विश्व बैंकले यसको निवारणमा जोड दिएको छ ।
विश्व बैंकका अध्यक्ष डेभिड मालपासले गरिबीसँग जुझ्न आवश्यक बृहद् सुधारमध्ये १० वर्षसम्मका बालबालिकाको शिक्षादीक्षा महत्वपूर्ण भएको बताएका छन् । आन्तरिक स्रोतको प्रभावकारी उपयोगका लागि हरेक देशले अन्य सुधारहरुमा समेत जोड दिनुपर्ने उनको भनाई छ । मानवपुँजीमा गरिने लगानीले विश्वव्यापी विकासका लक्ष्यले सार्थकता पाउने उनले बताएका छन् ।
विश्व बैंक र अन्नर्राष्ट्रिय मुद्रा कोषको जारी वार्षिक बैठकका क्रममा विश्व बैंकले यो धारणा सार्वजनिक गरेको हो । बैठकमा नेपालका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल सहभागी छन् । बैठकमा खतिवडाले विश्व बैंकले नेपालमा सहायता परिचालन गर्दा विगतमा लिएका कतिपय रणानीति प्राथमिकताहरुको विषयमा चर्चा गर्दै नेपालको प्राथमिकता अनुसार चरम गरिबी केही वर्ष भित्रमा हटाउने र आम जनताको औषत आयु एसिया प्रशान्त क्षेत्रको औषत आयु बराबर पुर्याई गुणस्तरीय जीवन यापन गर्न सक्ने बनाउन सहायता बढाउन विश्व बैंकसँग आग्रह गरेका छन् ।
बैंकबाट प्राप्त हुने सहायतालाई उच्चतम प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने र ऋण माथिको निर्भरता कम गर्न तुरुन्तै प्रतिफल दिने क्षेत्रमा सहायता परिचालन गर्ने नीति नेपाल सरकारले लिएको बताउँदै अर्थमन्त्री डा. खतिवडाले प्राप्त हुने सहायताको पूर्ण सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गरे । विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टविक सेफर र अन्तर्राष्ट्रिय वित्त निगमका उपाध्यक्षले नेपालले विगतमा बैंकको सहयोगमा विभिन्न क्षेत्रमा गरेको प्रगतिको चर्चा गर्दै गत वर्ष नेपाल दक्षिण एसियाकै राम्रो प्रगति गर्ने मुलुक हुन सफल भएकोमा उच्च प्रशंशा अझै धेरै साझेदारी गर्न बाँकी रहेको बताएका छन् ।