बैंकका पूर्व सिईओहरु धमाधम सञ्चालक बन्दै, यी सात अनुहार जो सिईओबाट सञ्चालक बने
शंकर पण्डित काठमाडौं, ९ मंसिर । केही दिन अघि सिटिजन्स बैंक ईन्टरनेशनलले लक्ष्मी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुदेश खालिङलाई सञ्चालकमा नियुक्त गर्यो । लामो समय बैंकिङ क्षेत्रमा सक्रिय खालिङ कुलिङ पिरियड सकिएसँगै अन्य बैंकमा प्रमुख कार्यकारी अधिकृत कै जिम्मेवारीमा जाने मनस्थितीमा थिए । तर उनी व्यवस्थापकको रुपमा नभई सञ्चालकको रुपमा बैंक फर्किए ।
उनी जस्तै झन्डै एक दर्जन पूर्व प्रमुख कार्यकारी अधिृकतबाट बाहिरिएसँगै सञ्चालकको जिम्मेवारीमा बैंक फर्किएका छन् ।
सिटिजन्स बैंककै पूर्व सिईओ राजन सिंह भण्डारी पनि ६ महिनाको कुलिङ पिरियड सकाएर सञ्चालक समिति अध्यक्षको जिम्मेवारी सहित पुन सोही बैंक फर्किएका छन् । नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार एउटै बैंकमा दुई कार्यकाल भन्दा बढी सञ्चालक र प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था छ । उनले सिटिजन्समा दुई कार्यकाल सिईओको रुपमा काम गरे ।
त्यस्तै एनएमबि बैंकको सिईओबाट बिदा भएका उपेन्द्र पौडेल पनि यतिबेला नविल बैंकको सञ्चालक छन् भने कुमारी बैंकको सिईओबाट बाहिरिएका उदयकृष्ण उपाध्याय पनि सोही बैंकको सञ्चालकमा केही महिना अघि मात्र नियुक्त भएका छन् ।
सिभिल बैंकका पूर्व सिईओ किशोर महर्जन , बैंक अफ काडमाण्डूका राधेश पन्त र राष्ट्रिय वाणिज्य बैंकका कृष्ण प्रसाद शर्मा पनि अहिले सञ्चालकको जिम्मेवारीमा छन् ।
सिभिल बैंकबाट बाहिरिएका महर्जन प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष छन् । त्यस्तै, बैंक अफ काडमाण्डूका पूर्व सिईओ पन्त पनि अहिले सोही बैंकको सञ्चालक छन् भने शर्माले ग्लोबल आइएमई बैंकको सञ्चालक छन् ।
‘प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएर बैंक सञ्चालनको अनुभव हासिल गरेका बैंकरहरु सञ्चालकमा फर्कनु राम्रो पक्ष हो ।’ एक पूर्व बैकरले अर्थको अर्थसँग भने, ‘सिईओ हुने अवसर नपाएपछि सञ्चालकको रुपमा बैंकमा आफ्नो अनुभव लगाउदा राम्रो हुने देखेरै गएका होलान् । या सोही आधारमा नियुक्ती पाएका होलान यो राम्रो कुरा हो । ’
अनुभवि व्यक्ति अभिभावकको रुपमा पाउनु बैंककै लागि सुखद् कुरा भएको उनको विचार छ ।