प्रडक्ट कट एण्ड पेस्ट गर्छन् बीमा कम्पनीहरु
काठमाडौ, १६ मंसिर । नेपालका बीमा कम्पनीहरुले प्रडक्ट उत्पादनमा कट एण्ड पेस्ट गर्ने गरेका छन् । नयाँ प्रडक्ट उत्पादनमा सृजनात्मक जनशक्ति र रकम पनि लगानी गर्नुपर्ने हुँदा कम्पनीहरुले अन्य कम्पनीको प्रडक्टलाई नाम परिवर्तन गरी सञ्चालन गर्ने गरेका छन् ।
नेपाली बीमा कम्पनीहरु नाफामा केन्द्रित छन् । त्यसैले अरुको प्रडक्ट कपी गर्ने गरेको बीमा समितिका पूर्व अध्यक्ष डा.फत्त बहादुर केसीले बताए । काठमाडौमा त्रिभुवन बिश्व विद्यालय अन्र्तगतको गणित विज्ञान स्कुलले आयोजना गरेको ‘प्रोफेसनल स्किल डेभलपमेण्ट प्रोग्राम अन प्राईसिङ एण्ड रिजर्भिङ इन लाइफ इन्स्योरेन्स’ बिषयक प्रशिक्षणको उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष केसीले कपी पेस्टको कारण नेपाली बीमा कम्पनीहरुको प्रडक्टमा विविधता नभएको उनले बताए । त्यस्तै पछिल्लो समयमा नेपालमा बिमाका गतिविधि बढ्दै गएको छ । तर, सोही अनुसार व्यवसायिक रुपमा क्षमता बृद्धिमा लगानी हुन नसकेको उनले बताए ।
कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश गुरागाईले नेपालमा वित्तीय क्षेत्रमा कर्पोरेट क्षमता बृद्धि र आईटीमा लगानी नभएको बताए । बैंक तथा वित्तीय क्षेत्रहरुमा परिणाम स्वरुप बैकिङ ठगी र ह्याकिङ्गका घटनाहरु बढ्दै गएको उनले स्पष्ट पारे । अध्यक्ष गुरागाईले अन्तर्रािष्ट्रय क्षेत्रमा नाफा भन्दा पनि बढी सुरक्षामा लगानी हुने गरेको बताए । “नेपालमा बढी नाफामा ध्यान दिईन्छ । तर सुरक्षामा भने शून्य लगानी छ,” उनले भने । कर्मचारीको व्यवसायिक सिप र प्रविधिमा सुरक्षा नदिएसम्म दीगो रुपमा नाफा आर्जन गर्न नसकिने बताए ।
कार्यक्रममा गणित विज्ञान स्कुलका निर्देशक प्रकाश मुनी बज्रचार्यले नेपालमा बिमाकी अध्ययन गर्नेको संख्या बढ्दै गएको बताए । त्रिभुवन विश्वविद्यालयले तीन बर्ष अगाडी देखि गणित साईन्सको अध्यापन सुरु गरेको हो । सुरुको बर्ष जम्मा ४५ जनाले अध्ययनका लागि आवेदन दिएका थिए । जसमध्ये स्कुलले ३० जनालाई मात्रै भर्ना लिएको थियो । दोस्रो बर्ष ४८ जनाले आवेदन दिएकोमा ३१ जना छनोट भएका थिए । तेस्रो बर्ष ७० जनाले आवेदन दिएका थिए । तर ३६ जना मात्रै छनोट भएका थिए । त्यस्तै चौथो बर्ष २ सय जनाले आवेदन दिएकोमा ३६ जना मात्रै छनोट भएको उनले बताए ।
स्कुलले आयोजना गरेको प्रशिक्षण दुई दिनसम्म सञ्चालन हुनेछन । गोष्ठीमा विभिन्न कम्पनीका ६५ जना सिएले भाग लिएका छन् । तालिममा भारतीय बिमाकीं कमलेश गुप्ताले प्रशिक्षण दिनेछन् ।