४० मेगावाटको माथिल्लो चमेलिया अपी पावर कम्पनीले निर्माण गर्ने
काठमाडौं, २५ मंसिर । अपी पावर कम्पनीले ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । कम्पनीले आगामी तीन बर्ष भित्रमा आयोजना सम्पन्न गरी सक्ने योजना बनाएको छ । कम्पनी यस अघि ८.५ मेगावाटको माथिल्लो नौगाड र ८ मेगावाटको नौगाड आयोजनाबाट विद्युत उत्पादन गरिरहेको छ ।
आयोजना लागत ७ अर्ब ४० करोड रुपैयाँ अनुमान गरिएको कम्पनीले जनाएको छ । जसमध्ये ३० प्रतिशत अर्थात २ अर्ब २२ करोड रुपैयाँ सेयर लगानी र बाँकी ५ अर्ब १८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी हुनेछ । आयोजना बनाउन प्रतिमेगावाट लागत २० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । अपीमा सर्वसाधारणको लगानी रहेको छ ।
आयोजनाबाट २६ करोड ४१ लाख युनिट बिजुली उत्पादन हुनेछ । हिउँदमा ३० र वर्षादमा ७० प्रतिशत ऊर्जा उत्पादन हुन छ । आयोजनाबाट उत्पादन हुने बिजुली १३२ केभी बलाँच सवस्टेशनमा जोडिने छ । कम्पनीले आयोजना निर्माणका लागि आवश्यक रकम जुटाउँन २०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । अपीले २ अर्ब २६ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनको तयारी गरेको हो ।