Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

मानव विकासमा नेपाल एक स्थान उक्लियो

मानव विकासमा नेपाल एक स्थान उक्लियो

काठमाडौँ, २६ मंसिर । मानव विकास प्रतिवेदनमा नेपाल एक स्थान माथि उक्लिएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गर्ने प्रतिवेदनमा नेपाल एक स्थान उक्लिएको हो । युएनडिपीले मानव विकास मापन गरिएका १ सय ८९ मुलुकमध्ये नेपाल १ सय ४७औँ स्थानमा पुगेको हो । गत वर्ष नेपाल १ सय ४८औँ स्थानमा थियो ।

युएनडिपीको प्रतिवेदन अनुसार सन् २०१८ मा नेपालको मानव विकास सूचकांक मूल्य ०।५७९ पुगेको छ । जुन अघिल्लो वर्षको भन्दा ०.००५ अंकले बढी हो । सन् २०१७ मा नेपालको मानव सूचकांक मूल्य ०.५७४ र सन् २०१६ मा ०.५७२ रहेको थियो । नेपाल र अफ्रिकी मुलुक केन्याको मानव विकास सूचकांक समान देखिएको छ । १ सय ८९ मुलुकमध्ये ६२ वटा मुलुकमा धेरै उच्च मानव विकास रहेको छ । त्यस्तै, उच्च मानव विकास भएका मुलुक ५४ वटा र मध्यम मानव विकास भएका मुलुक ३७ वटा रहेका छन् । कम मानव विकास भएका मुलुकको संख्या ३६ वटा रहेका छन् ।

नेपालको लैंगिक विकास सूचकांक ०.८९७ रहेको छ । महिलाको मानव विकास सूचक ०.५४९ रहेको छ भने पुरुषको ०.६१२ रहेको छ । नेपालीको औसत आयु ७०.५ वर्ष रहेको छ । जसमा महिलाको औसत आयु ७१.९ वर्ष र पुरुषको ६९ वर्ष रहेको छ । कुल प्रतिव्यक्ति राष्ट्रिय आय २ हजार ७ सय ४८ अमेरिकी डलर रहेको छ । यसमा महिलाको जिएनआई २ हजार १ सय १३ अमेरिकी डलर र पुरुषको ३ हजार ५ सय १० अमेरिकी डलर छ ।

युएनडिपीका अनुसार मानव विकासमा ०.९५४ सूचकांकका साथ नर्वे पहिलो स्थानमा रहेको छ । पश्चिम अफ्रिकी मुलुक नाइजर ०.३७७ सूचकांकका साथ मानव विकासमा अन्तिम अर्थात् १८९औँ स्थानमा रहेको छ । धेरै उच्च मानव विकास भएका १० मुलुकमा एसियाका हङकङ र सिंगापुर परेका छन् । त्यस्तै, अमेरिका तथा बेलायत १५औँ स्थानमा, दक्षिण कोरिया २२औँ स्थानमा र चीन ८५औँ स्थानमा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x