चिनियाँ राजदूत भन्छिन्– हिमालय वारिपारी कनेक्टिभिटी अघि बढ्छ
काठमाडौं, १५ पुस । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआइ)ले नेपाल र चीनबीच सहयकार्य, साझेदारी र आपसी हितलाई प्रवद्र्धन गरेको बताएकी छिन् । सन् २०१८ मा नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकमा चीन रहेको छ । सन् २०१८ मा नेपाल र चीनबीचको दुईतर्फी व्यापार ११५ अर्ब रुपैयाँ र चीनबाट नेपालमा लगानी ३५ अर्ब रुपैयाँ नाघेको छ । राजदूत यान्छीले दुई देशको सम्बन्ध नयाँ उचाईमा पुगेको भन्दै आगामी वर्षहरुमा आर्थिक, व्यापारिक, लगानी, पर्यटन आप्रवाह र सांस्कृतिक सम्बन्ध घनीभूत ढंगले अघि बढ्ने बताएकी हुन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गरेबाट सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको राजदूतको भनाई छ ।
राजदूत यान्छी चीनको विदेश मन्त्रालयमा निकै प्रभावशाली कुटनीतिज्ञ मानिन्छिन् । सी चिनफिङ राष्ट्रपति भएलगत्तै उनले विदेश मन्त्रालयको अग्रसरतामा पेरिफेरियल कुटनीति सम्बन्धमा सम्मेलन आयोजना गराएकी थिइन् । उनैको अग्रसरतामा चिनियाँ राष्ट्रपतिको भ्रमण सम्भव भएको हो ।
ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘ट्रान्स हिमालय कनेक्टिभिटी एण्ड कोअपरेसन फर सेयर्ड प्रोस्पिरिटी’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै राजदूत यान्छीले हिमालय सीमापार सम्पर्क सञ्जालले नेपाललाई भूपरिवेष्ठीत नभएर भूजडित बनाएको उल्लेख गरिन् । चीनले नेपाललाई केही सुख्खा बन्दरगाह र केही सामुद्रीक बन्दरगाहसम्मको पहुँच दिएर प्रशान्त महासागर हुँदै तेश्रो देशसँग व्यापार गर्न सहज बनाएको उनको भनाई थियो । ‘अब नेपाल भू परिवेष्ठीत होइन, भूजडित राष्ट्र भएको छ,’ उनले भनिन् ।
राजदूत यान्छीले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ यसमा आवद्ध राष्ट्रको साझा संवृद्धिको पहल भएकोमा जोड दिइन् । दीगो विकास लक्ष्य प्राप्ति गर्न नेपाललाई चीनले पूर्वाधार, व्यापार, लगानी र पर्यटनका माध्यमबाट सघाउने राजदूत यान्छिको भनाई थियो ।