पाम आयलमा वनस्पति घ्यूकै नियति, भारतले रोक्यो आयात
![पाम आयलमा वनस्पति घ्यूकै नियति, भारतले रोक्यो आयात](https://arthakoartha.com/wp-content/uploads/2020/01/Palm-Oil_20191106032547.jpg)
काठमाडौं, २४ पुस । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गरेर पाम आयालको आयात रोकेपछि नेपालको अर्बौ रुपैयाँको भारत निकासी प्रभावित हुने भएको छ । पाम आयालमा पनि अब वनस्पति घ्यूकै नियति दोहोरिने भएको छ । पछिल्लो वर्ष पाम आयल नेपालको सबैभन्दा प्रमुख निकासी वस्तुको रुपमा रहँदै आएको छ । भन्सार विभागका अनुसार, यस आवको पहिलो पाँच महिनामा ११ अर्ब ५५ करोडको निकासी भएको थियो । गत वर्षको तुलनामा व्यापक निकासी वृद्धि भएर भारतीय बजारमा पाम आयल जान लागेपछि भारतले आयात नै रोकिदियो ।
भारतले पाम आयलको भन्सार ४० प्रतिशत तोकेको थियो । त्यसकारण भारतीय व्यापारीले सीधै पाम तेल उत्पादन हुने इण्डोनेसिया या मलेसियाबाट आयात नगरेर नेपाल हुँदै घुमाउरो तरिकाले आयात गरिरहेका थिए । नेपालमा पाम आयलमा १० प्रतिशत भन्सार छ । भारत निकासी गर्दा भन्सार लाग्दैन । जसका कारण पाम तेल व्यापक रुपमा भारतीय बजारमा निकासी हुन थालेको थियो । यसमा भारतले ब्रेक लगाएपछि यसको निकासी संकटमा पर्ने देखिएको छ । विगतमा वनस्पति घ्यूमा पनि भारतले नेपालमा उत्पादन क्षमताभन्दा बढी परिमाण भारतमा निकासी भएको भनेर कोटा प्रणाली लागू गरिदिएको थियो । त्यसपछि वनस्पति घ्यू उद्योग संकटमा परेका थिए । सोही नियति पाम आयलमा दोहोरिने भएको छ ।