सेयर बजारमा उछाल, १ अर्व ३३ करोडको कारोबार
काठमाडौं, २७ पुस । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक वृद्धि भएसँग कारोबार रकममा पनि वृद्धि भएको छ । आज एक अर्व ३३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । गत साताको अन्तिम कारोबार दिन सामान्य अंकले वृद्धि भएको नेप्से परिसूचक आज भने ४२.६१ अंकले वृद्धि भई १२५५.७२ विन्दुमा रोकिएको छ ।
जानकारहरुले बैंकको घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा परेको बताउछन् । त्यस्तै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएको र उनले पुँजी बजार सुधार र स्थायीत्वका लागि काम गर्ने प्रतिवद्धता गरेकाले लगानीकर्ताको मनोबल बढ्न गएको विश्लेषण गरिएको छ ।
सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफको
सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । उक्त कम्पनीको ५ करोड ८८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । त्यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया बैंकको ४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कारोबारमा आएका सबै समूहको परिसूचकमा वृद्धि
आज कारोबारमा आएका १२ वटै समूहको परिसूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी पसिसूचक वृद्धि हुनेमा निर्जीवन बीमा समूह, जीवन बीमा समूह र माइक्रोफाइनान्स समूह रहेका छन् । निर्जीवन बीमा समूहको ८.१७ प्रतिशत, जीवन बीमा समूहको ६.८६ प्रतिशत र माइक्रोफाइनान्स समूहको ६.५५ प्रतिशत परिसूचकमा वृद्धि भएको हो ।