लक्ष्य ६१२ अर्ब, उठ्यो ५१५ अर्ब
काठमाडौं, ८ फागुन । राजस्वको लक्ष्य र असुलीको ग्याप बढ्दै गएको छ । चालु आवको ७ महिना (साउनदेखि माघसम्म) ६ खर्ब १२ अर्ब २२ करोड रुपैयाँ राजस्वको लक्ष्य निर्धारण गरेकोमा ५ खर्ब १५ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । राजस्को लक्ष्य र असुलीबीचको खाडल ९६ अर्ब रुपैयाँ पुगेको छ । सरकारले छैटौ महिनामा लाभांश, रोयल्टी, शुल्क समेत असुलीमा तीव्रता दिएको भएपनि राजस्वको लक्ष्य र असुलीमा ग्याप बढ्दै गएको छ ।
अर्कोतर्फ, पहिलो महिनादेखि नै लक्ष्य अनुसार राजस्व संकलन भएको छैन । सरकारले बजेटको मध्यावधि समीक्षामार्फत् राजस्वको आकार घटाएको छ । कर संकलनको लक्ष्य घटाएको भएपनि गैरकरतर्फको लक्ष्य भने बढाइएको छ । सुरुवातमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको सरकारले मध्यावधि समीक्षामार्फत् घटाएर १० खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने उल्लेख गरेको छ ।
राजस्वका शीर्षकगत लक्ष्यमध्ये चालु आवको सात महिनामा राजस्वको लक्ष्य र संकलनमा भन्सारतर्फ ३६ अर्ब ५३ करोड, मूल्य अभिवृद्धिकरतर्फ ३० अर्ब ७७ करोड, अन्तःशुल्क २३ अर्ब ४५ करोड, आयकरमा १६ अर्ब २३ करोड र अन्य करतर्फ ३ अर्ब ४३ करोड रुपैयाँ र शिक्षा सेवा शुल्कतर्फ ३१ करोड रुपैयाँ लक्ष्यभन्दा कम असुली भएको छ । ७ महिनामा भन्सारबाट ८९ अर्ब ३९ करोड रुपैयाँ, भ्याटबाट एक खर्ब ४७ अर्ब, अन्तःशुल्कबाट ७० अर्ब ७१ करोड, आयकरबाट एक खर्ब २७ अर्ब, अन्यबाट ११ अर्ब ९८ करोड र शिक्षा सेवा शुल्कबाट ४३ करोड रुपैयाँ संकलन भएको अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखाले जनाएको छ ।