Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विश्व बैंकले दियो तीन कार्यक्रमलाई ४४ करोड डलर सहयोग

विश्व बैंकले दियो तीन कार्यक्रमलाई ४४ करोड डलर सहयोग

काठमाडौं, माघ ८ । विश्व बैंकले नेपाललाई तीन परियोजनामा ४४ करोड डलर सहयोग प्रदान गरेको छ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष एन्नेट दीक्सनको उपस्थितिमा उक्त सहयोग सम्बन्धि सम्झौतापत्रमा विश्व ब्यांकका राष्ट्रिय निर्देशक सिमिओ फान र अर्थ सचिव शंकरप्रसाद अधिकारीले आइतबार हस्ताक्षर गरेका छन् । यो सहयोग भूकम्पप्रभावितहरुको आवास पुनर्निर्माण, पशुपालनमा नवीन खोज प्रवद्र्धन र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमका लागि खर्च गरिनेछ ।

विश्व ब्यांकको यो सहयोगले नेपालमा समावेशी (महिलासहित) रोजगारी वृद्धि, सुरक्षित आवास निर्माणमार्फत् गुणस्तरीय जीवन अभिवृद्धि, उत्पादन वृद्धि तथा युवालाई तालिमका अवसर प्रदान गर्नेछ । सम्झौता अनुसार विश्व बैंकले भूकम्प प्रभावितका नीजि आवास पुनर्निर्माणका लागि ३० करोड डलर प्रदान गर्नेछ । २०७२ वैशाख १२ को महाविनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुले ३१ जिल्लालाई असर पारेको छ । यी मध्ये काठमाडौं उपत्यकासहित १४ जिल्ला अत्यन्त प्रभावित छन् । विश्व ब्यांकको पछिल्लो सहयोगले यसअघि स्वीकृत २० करोड डलरको पूरकको काम गर्नेछ । प्रारम्भिक सर्वेक्षण अनुसार ५ लाख घर प्रभावित भएका थिए तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सर्वेक्षणले ६ लाख ५० हजार घर सरकारी अनुदानका लागि योग्य ठहराएको छ । त्यसका अतिरिक्त सरकारले निजी आवास पुनर्निर्माणका लागि दिने अनुदान बढाएर दुई लाखबाट ३ लाख पुर्याएको छ । जसका कारण निजी आवास पुनर्निर्माणमा मात्र सरकारको एक अर्ब २० करोड डलरको दायित्व वृद्धि भएको छ ।
दोस्रो सम्झौता, पशुविकासका लागि हो जसमा विश्व बैंकले ८ करोड डलर सहयोग दिएको छ । यो परियोजनाले सरकारको कृषि विकास रणनीति कार्यान्वयनका लागि सहयोग गर्नेछ । यो परियोजनाले २७१ नगरपालिकालाई प्रत्यक्ष रुपमा लाभान्वित गराउनेछ । यो परियोजनाबाट महिलाहरु र खासगरी ५०० साना मझौला उद्यमहरु उत्पादन र उत्पादन पश्चातको मूल्य शृंखलामा समावेश हुनेछन् ।
त्यस्तै, ६ करोड डलरको तेश्रो सम्झौता अन्तर्गत ४५०,००० देखि ५००,००० युवायुवतीलाई व्यावसायिक शिक्षा तथा तालिम प्रदान गरिनेछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमले श्रम बजार र रोजगारपूर्व आवश्यक सीपबीचको माध्यमको काम गर्नेछ । अहिले प्राविधिक शिक्षा र व्यावसायिक तालिम प्रदान गर्ने संस्थाहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ तर आन्तरिक र बाह्य श्रम बजारका लागि गुणस्तरीय तालिमको भने अभाव कायमै छ । यस्ता तालिमबाट उपलब्धि हासिल गर्नका लागि यस परियोजना अन्तर्गत बजारसँग सम्बन्धित भएर तालिम प्रदान गरिनेछ ।
सहयोग सम्बन्धि हस्ताक्षर कार्यक्रममा विश्व बैंकका राष्ट्रिय निर्देशक फानले नेपालले सफलतापूर्वक तीन तहको निर्वाचन सम्पन्न गरेकोमा बधाई दिदैं निर्वाचनले नेपाललाई महत्वाकांक्षी संघीयता कार्यान्वयन गर्ने लक्ष्यको नजिक ल्याएको उल्लखे गरे । उनले विश्व ब्यांकले नेपाललाई भावी दिनहरुमा पनि यसैगरी सहयोग गर्ने प्रतिवद्धता जनाए । फानले नेपालले अघिल्लो तीन वर्षमा ९० करोड डलर सहायता सफलतापूर्वक परिचालन गरेको स्मरण गर्दै भूकम्पको समयमा ३० करोड थप सहायता पनि परिचालन भएको बताए । उनले विश्व बैंकको आगामी तीन वर्षको चक्रमा एक अर्ब ४० करोड सहायता प्रदान गरिने भन्दै नेपालका लागि नयाँ परिवेश अनुसार नेपाललाई सहयोग गर्न राष्ट्रिय साझेदारी रणनीति तर्जुमा हुँदै गरेको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x