वित्तीय स्थायित्वका लागि क्षमतावान गभर्नर नियुक्त गर्न सुझाव
काठमाडौं, २ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल ५ वर्षे कार्यकाल पूरा गरि आउँदो बुधबार बाहिरिदै छन् । उनको बहिर्गनमको समय आउन अब ३ दिन मात्र बाँकी छ । तर सरकारले अझै नयाँ गभर्नर छनोटका लागि समिति गठन गरेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण मन्त्रीपरिषद् बैठक बस्न नसक्दा समिति गठन हुन नसकेको हो ।
मन्त्रीपरिषद् बैठकले अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यिय नयाँ गभर्नर सिफारिस समिति गठन गर्नुपर्ने छ । सम्भवत भोलीसम्म सरकारले समिति गठन गर्ने बुझिएको छ।
समितिले गभर्नरका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, तथा वाणिज्य क्षेत्रको प्रतिष्ठित ब्यक्तिबाट दुईजना र राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट एक जना गरि कुल ३ जनाको नाम सिफारिस गर्नेछ । सोही ३ जनाको नामबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने छ ।
नयाँ गभर्नरका लागि पूर्व अर्थसचिव देखि राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशक सहित राष्ट्र बैंककै पूर्व कर्मचारी गरि झन्डै एक दर्जन सहभागी छन् ।
तर जानकारहरुले भावी गभर्नर वित्तीय क्षेत्रलाई स्थायित्व दिन सक्ने हुनुपर्ने बताएका छन् । सञ्चार केन्द्रले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौला र राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जवरालगायतले आगामी गभर्नर वित्तीय क्षेत्रलाई स्थायित्व दिन सक्ने क्षमतावान व्यक्ति हुनुपर्ने बताए ।
राष्ट्र बैंकका प्रथम गभर्नर शम्शेरले आगामी गभर्नर नेपाली मुद्रालाई विश्व बजारमा स्थायित्व दिन सक्ने, बैंक तथा वित्तीय संस्थालाई नियमन गर्न बनेका नीति र नियमको प्रभावकारी कार्यान्वन गर्न सक्ने, आर्थिक क्षेत्रको विशिष्ट ज्ञान भएको सबै क्षेत्रमा कमाण्ड गर्न सक्ने हुनु पर्ने बताए । गभर्नर छनोट गर्दा राजनीतिक दवाव हुने गरेको भन्दै समितिलाई सरकारले निष्पक्ष रुपमा काम गर्न दिनुपर्ने उनको भनाई छ ।
त्यसैगरी नेपाल बैंकर संघका अध्यक्ष दाहालले भावी गभर्नर बैंकिङ क्षेत्रको राम्रो ज्ञान भएको र यो क्षेत्रलाई अविभावकत्व दिन सक्ने हुनुपर्ने बताए । बैंकिङ क्षेत्रमा भएका समस्यालाई नीतिमार्फत् व्यवस्थित गर्न सक्ने नेतृत्व बैंकिङ क्षेत्रले खोजेको उनको भनाई छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले आगामी गभर्नरलाई सरकारले निश्चित कामहरुको विवरण सहित नियुक्त गर्नु पर्ने र ती कामहरु पुरा नभए स्वत हट्न सक्ने प्रावधान ल्याउँनु पर्ने बताए । उनले गभर्नर छनोट गर्दा हाम्रोलाई भन्दा सक्षम र उकृष्टलाई छनोट गर्नुपर्ने बताए ।
गभर्नरले भनेको डेपुटी गभर्नरले नमान्ने, डेपुटी गभर्नरले भनेको कार्यकारी निर्देशकले नमान्ने र कार्यकारी निर्देशकले भनेको निर्देशकले नमान्ने प्रचलन बढ्दै गएको भन्दै उनले भावी गभर्नरले त्यसलाई चेन अफ कमाण्ड दिन सक्नुपर्ने निरौलाले बताए ।
कार्यक्रममा अन्य बक्ताहरुले राजनीतिक पहुँचको आधारमा नभएर सक्षम गभर्नर अहिलेको आवश्यकता रहेको बताए ।