Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

चिनियाँ नाका खोल्ने उच्चस्तरीय समितिको निर्णय

चिनियाँ नाका खोल्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं, १३ चैत । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले चीनतर्फका रसुवागढी र तातोपानी नाका सुचारु गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको स्वास्थ्य सम्बन्धि प्रोटोकल अनुसरण गर्दै चीनबाट वस्तु आयात गर्ने निर्णय गरेको छ । कोरोना भाइरस परीक्षण गर्न स्वास्थ्य सामग्री अभाव भइरहेका बेला चीनले नेपाललाई ३० हजार अमेरिकी डलरबराबरको किट सहयोग गरेको छ । चीनको बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले कोरोना भाइरस परीक्षण गर्ने २ हजार किट नेपाल सरकारलाई सहयोग गरेको हो । कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बेइजिङस्थित नेपाली राजदूतावासका कार्यबहाक राजदूत सुशील लम्साल लाई बुधबार किट हस्तान्तरण गरेका छन् । लम्सालका अनुसार बेइजिङबाट ती किट बिहीबार नै तिब्बतको ल्हासा पु‍र्याइनेछ र त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासको पहलमा स्थलमार्ग हुँदै नेपाल पठाइनेछ । यसका अतिरिक्त चीनबाट अन्य स्वास्थ सम्बन्धि उपकरण लगायत सामग्री आयात गरिनेछ । त्यस्तै औषधी लगायत अत्यावश्यक स्वास्थ्य उपकरण आयात गर्न चार्टर हवाई सेवाको व्यवस्था समेत मिलाउन सक्नेछ ।
लकडाउनको दोस्रो दिन साँझ बसेको बैठकले केही अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय पनि गरेको छ । बैंकिङ सेवा सुचारु गर्ने विषयमा अर्थ र गृहमन्त्रालयले समन्वय गर्ने उल्लेख छ । त्यस्तै, औषधी, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी, माछाको दाना, कुखुराको चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुचारु गर्ने भएको छ । त्यस्तै ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक पर्ने सामान होम डेलिभरीको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधनलाई अनुमति दिनेछ । स्थानीय तहले अत्यावश्यक वस्तु बिक्री गर्ने पसलमा भीडभाड नहुने व्यवस्था मिलाउनुपर्नेछ ।
अतिआवश्यक ढुवानी गर्नुपरेमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आपूर्ति मन्त्रालयसँगको समन्वयमा हवाई ढुवानीको समेत प्रबन्ध मिलाउने बताइएको छ ।
त्यस्तै, देशका विभिन्न भागमा अलपत्र परेका पर्यटकलाई हवाई उद्दारगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुको देशमा फर्कने व्यवस्था गरिएको छ । अहिले नेपालमा १३ हजार ६ सय १७ पर्यटक अलपत्र परेको बताइन्छ । यसका अतिरिक्त इण्डक्सन चुल्हो प्रयोगमा भन्सार छुट दिने, विद्युत् महशुल समायोजन गर्न सम्बन्धित मन्त्रालयहरुलाई समितिले निर्देशन दिएका छ ।
त्यस्तै, स्थानीय निकायलाई भारत र तेश्रो मुलुकबाट नेपाल आएकाहरुको स्वास्थ्य सम्बन्धि विवरण र अभिलेख प्रत्येक दिन राख्न आग्रह गरिएको छ । कोभिड–१९ को लक्षण देखिएकाहरुको सूचना प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराउनुपर्नेछ । स्थानीय तहले क्लोरिन र ब्लीचिङ पाउडरले आआफ्नो क्षेत्र निस्संक्रमण गर्नुपर्नेछ ।
साथै, मालबहाक सामान भन्सारले निस्संक्रमण गरेर मात्र मुलुकभित्र भित्र्याउन समितिले निर्देशन दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x