लकडाउन थपिएसँगै लम्बियो शेयर बजार बन्द हुने समय

पूर्ण प्रसाद चौलागाई २०७६ चैत १७ काठमाडौं । आइतवार साँझ सरकारले चैत १९ देखि लागू हुनेगरी लकडाउनको अवधि एक साता थपेसँगै शेयरबजार बन्द हुने अवधि पनि लम्बिएको छ । यसअघि जारी गरिएको लकडाउन अवधि मंगलवार सकिँदै थियो ।
सरकारले आइतवार लकडाउनको अवधि चैत २५ गतेसम्मका लागि लम्ब्याएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले पनि धितोपत्र कारोबार कारोबार बन्द हुने अवधि थपिने जानकारी दिएको हो ।
यसअघि नेपाल धितोपत्र बोर्डले चैत १० देखि कायम हुनेगरी ५ दिन शेयर कारोबार स्थगित गर्न नेप्सेलाई चैत ९ गते निर्देशन दिएको थियो । सोही निर्देशन अनुरूप नेप्सेले चैत ११ गते घोडेजात्राको सार्वजनिक बिदा कटौती गरेर चैत १७ गतेसम्म कारोबार रोक्ने निर्णय गरेको थियो । उक्त निर्णयको समयावधि आज (सोमवार) सकिँदै थियो ।
सोअगावै आइतवार बसेको मन्त्रिपरिषद् बैठकको लकडाउन अवधि थप्ने निर्णयपछि शेयर कारोबार पनि रोक्ने निर्णय गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको भनाइ छ । ‘सरकारले निर्धारण तय गरेको लकडाउन अवधिभर कारोबार बन्द हुनेछ,’ उनले भने, ‘कारोबार बन्द भए पनि शेयर सूचीकरणको काम भने रोकिँदैन ।’
नेप्सेको वेबसाइटमा कम्पनीहरूको सूचना सार्वजनिक गर्ने काम मंगलवारदेखि शुरू हुने साउदले जानकारी दिए । आफ्ना सूचना आफैले नेप्सेको वेबसाइटमा अपडेट गर्न नेप्सेले सम्बन्धित कम्पनीहरूलाई लगइन उपलब्ध भइसकेको उनले बताए ।
नेप्सेको कारोबार बन्द भएपछि राफसाफ प्रक्रिया पनि रोकिएको छ । धितोपत्र कारोबारको राफसाफ गर्दै आएको सिडिएस एण्ड क्लियरिङ लिमिटेडले चैत ११ गते सूचना निकालेर लकडाउन अवधिमा राफसाफको काम रोकिएको बताएको छ ।