नेप्से पुनः १४ सय माथि, कारोबार रकम न्युन
काठमाडौं, ११ माघ । साताको अन्तिम दिन विहिबार नेप्से परिसुचकमा वृद्धि आएको छ । यो वृद्धिसंगै नेप्से परिसुचक पुनः १४ सय विन्दु माथि उक्लेको छ ।
विहिबार नेप्से परिसुचक ९.८ अंकले बढेर १४०४.५३ विन्दुमा पुगेको छ । गत मंगलबार नेप्से परिसुचक १४ सय विन्दु मुनि पुगेको थियो । हिजो सामान्य अंकले बढेको नेप्से आज विहिबार ९.८ अंकले बढेको हो ।
नेप्से परिसुचकमा विहिबार वृद्धि आए पनि कारोबार रकम भने सामान्य मात्र बढेको छ । हिजो २६ करोड रुपैयाँ कारोबार भएको शेयर बजारमा आज कुल १५९ कम्पनीहरुको ६ लाख ६२ हजार १६९ कित्ता शेयरको किनबेचबाट २८ करोड २२ लाख ४१ हजार ५५२ रुपैयाँको कारोबार भएको छ । पछिल्लो समय शेयर बजारमा कारोबार रकम न्युन हुन थालेको छ । न्युन कारोबार रकम हुनुको कारण भने दोस्रो बजारमा लगानीकर्ताहरुको आकर्षण कम हुनुलाई मानिएको छ । यता अहिले नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुले हकप्रद शेयर निष्कासन गर्दै आएको कारण पनि लगानीकर्ताहरुको आकर्षण दोस्रो बजारमा घटेको बताइएको छ ।