सञ्चय कोषका ऋणिलाई व्याजमा १० प्रतिशत छुट, कोरोनाबाट पीडितलाई २ लाख क्षतिपूर्ति दिईंने
काठमाडौं, २८ चैत । कर्मचारी सञ्चाय कोषबाट कर्जा लिएका ऋणिले चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका छन् । कोषबाट घर सापटी कर्जा, घर मर्मत कर्जा, शैक्षिक कर्जा र सरल कर्जा लिएका सञ्चयकर्ताले चैत, बैशाख, जेठ र असार गरी चार महिनाको व्याजमा १० प्रतिशत छुट पाउने भएका हुन् ।कोरोना भाइरसको संक्रमणको कारण परेको प्रभावलाई सम्बोधन गर्नको लागि कोषले उक्त छुट दिन लागेको जनाएको छ ।
साथै, कोषले २०७७ असार मसान्तसम्ममा बुझाउनु पर्ने किस्ता रकम साउनसम्म बुझाउन सकिने गरि समय वृद्धि गरेको छ । यस्तो छुट सुविधा कोषका संस्थागत ऋणिको लागि पनि भएको बताइएको छ ।
त्यस्तै कोषमा नियमित सञ्चय कोष कट्टी गरिरहेका सञ्चयकर्ताको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा त्यसलाई दुर्घटना मानी क्षतिपूर्ति बापत २ लाख रुपैयाँ पनि दिने निर्णय कोषले गरेको छ ।