भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, ४०० भन्दा बढीको मृत्यु

नयाँ दिल्ली, ४ वैशाख । बिहीवार बिहानको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । गएको २४ घन्टायता यहाँ ९४१ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतमा देखिएका यी संक्रमितमध्ये १ हजार ४८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १० हजार ४७७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४१४ पुगेको छ ।