लकडाउन खुकुलो बनाइने, पुरै खोल्न डब्लुएचओका ६ शर्त
काठमाडौं, ८ वैशाख । सरकारले वैशाख १५ पछि लकडाउनलाई केही खुकुलो बनाउने संकेत गरेको छ । कृषि, निर्माण, उत्पादनमूलक उद्योग खुला गर्ने सरकारको तयारी छ । एक महिना लक डाउन हुँदा अर्थतन्त्र ठप्पप्राय छ । किसानले उत्पादन गरेका दूध, तरकारी, माछामासु बजारमा लैजानै समस्या भइरहेको छ । यद्यपि अन्तर्राष्ट्रिय नाका र प्रवेश बिन्दू भने बन्द नै रहनेछन् ।
भारतमा संक्रमण कम नहुँदा सम्म नेपाललाई जोखिम नै रहेकाले मालबहाक सवारीलाई बाहेक मानिसहरुको आवतजावत पूर्ण प्रतिबन्ध लगाइनेछ । बढी भीडभाड हुने स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा घर बन्द नै रहनेछन् । संक्रमणको जोखिम कम गरी आफू सचेत भएर काम गर्न बाध नगर्ने निधोमा सरकार पुगेको छ ।
आन्तरिक गतिविधि खुकुलो पार्ने, आन्तरिक पर्यटन बढाउने, उत्पादन र रोजगारीका माध्यमबाट आपूर्ति र खपत बढाएर अर्थतन्त्रलाई गति दिन अत्यावश्यक भैसकेको सरकारका एक मन्त्रीले बताए ।
पुरै खोल्न डब्लुएचओका ६ शर्त
लकडाउन अन्त्य गर्नका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ६ ओटा शर्त अघि सारेको छ । संक्रमण फैलन नदिन लकडाउन नै प्रभावकारी उपाय भएकाले त्यसको अन्त्य गर्न ६ ओटा शर्त पुरा गरेको हुनुपर्ने डब्लुएचओले उल्लेख गरेको छ । यद्यपि यी शर्त पुरा गरेर लकडाउन खोलेको चीनको वुहान सहरमा समेत नयाँ संक्रमितहरु फेला परेपछि पुनः कडाइँ गरिएको छ ।
१. संक्रमण नियन्त्रणमा आएको हुनुपर्ने, नयाँ संक्रमणको सम्भावन कम भएको ।
२. कुनै केस भेटिएमा त्यसलाई तत्काल पहिचान, अलग्याउने त्यो संक्रमितको सम्पर्कमा रहेकालाई पहिचान गरी अलग्याउने र टेस्ट गर्ने
३. जोखिममा रहेका ठाउँ नर्सिङ होम, अस्पतालमा सर्ने सम्भावना कम भएको
४. कार्यस्थलमा भौतिक दूरी, हात धुने सुविधा स्थापित भएको
५. यात्रीहरुबाट नयाँ संक्रमणको सम्भावना नियन्त्रणमा आएके
६. सबै जनसंख्या सचेत र नयाँ परिस्थितिको सामान्य जनजीवनमा बस्न तयार रहेको ।