जर्मनीबाट थप कोरोना परीक्षण सामग्री ल्याइँदै
काठमाडौं, २२ वैशाख । सरकारले कोभिड–१९ को परीक्षणका लागि आवश्यक थप सामग्री ल्याउन थालेको छ । पहिले परीक्षणका लागि ल्याइएका कीट सकिन थालेपछि पिसिआर र आरडिटीका लागि आवश्यक सामग्री ल्याउन थालिएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । नेपाली सेनामार्फत जर्मनीबाट ती कीट ल्याउन थालिएको हो ।
मन्त्रालयले पहिलो पटक बोलपत्र आह्वानबाट ७० हजार आरडिटी कीट ल्याएको थियो । अहिले ती सबै आरडिटी कीट सबै प्रदेश र स्थानीय तहमा पठाइसकेकाले मन्त्रालयसँग कीट छैन । परीक्षणको कमी हुन नदिनका लागि चाँडै नै खरिद प्रक्रियाबाट कीट ल्याइने बताइएको छ ।
नेपालमा अहिलेसम्म क्वारेन्टाइनमा २१ हजार ९५८ रहेका छन् । पिसिआर र आरडिटीमार्फत हालसम्म ६१ हजार १०२ को स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये पिसिआर विधिबाट १३ हजार ४१४ र आरडिटीमार्फत ४९ हजार ६८८ व्यक्तिको परीक्षण गरिएको छ ।