उद्योग व्यवसाय खुलाउने निर्णयको समुद्रपार निकासी पैठारी संघको स्वागत, ‘सञ्चालनमा भने अझै समस्या’
काठमाडौं, २६ वैशाख । नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारले कोरोना भाइरस रोग (कोभिड १९) को संक्रमण रोकथामका लागि लागू गरेको लकडाउनकै बीचमा पनि उपभोग्य वस्तु, विकास आयोजना, पशुपक्षीपालन, कृषि, आपूर्ति र बैंक एवं वित्तीय संस्था लगायत वस्तु र सेवासम्बद्ध उद्योगको हकमा खुकुलो नीति लिएर त्यस्ता उद्योग, व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था गरेकोमा उक्त कदमको यो संघ स्वागत गरेको छ ।
यसले सर्वसाधारण सेवाग्राहीलाई आवश्यक वस्तु प्राप्त गर्न सजिलो हुनुका साथै आपूर्ति व्यवस्था सामान्य बनाइराख्न र उद्योग, व्यवसायलाई सञ्चालन खर्च जुटाउन मद्दत पुग्ने संघको ठहर छ । तर उद्योगहरुबाट उत्पादित वस्तु ढुवानी तथा त्यसको खुद्रा कारोबार सहज नहुन्जेल उत्पादनको कुनै अर्थ नरहने संघले बताएको छ । ‘कुनै पनि उद्योगबाट उत्पादित वस्तु स्टकिस्ट, डिलर, खुद्रा बिक्रेता हुँदै उपभोक्तासम्म पुग्ने हो । तर यतिखेर उद्योगीहरु सामु उत्पादित वस्तु ढुवानी गरेर उपभोक्तासम्म कसरी पु¥याउने, खुद्रा बिक्रेताले कहिले बिक्री गर्न पाउने लगायत समस्या छन्,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सरकारले सञ्चालन अनुमति दिएका उद्योगका उत्पादन ओसारपसार गर्ने सवारीसाधनका लागि पास लिनुपर्ने बाध्यताका साथै पास वितरण गर्ने निकायसम्म पुग्न पनि उत्तिकै कठिन रहेको संघले औंल्याएको छ । त्यसैले केही निश्चित उद्योग तथा व्यवसाय सञ्चालन गर्न अनुमति दिए जस्तै खाद्य वस्तु बाहेकका उत्पादन ढुवानी गर्ने साधन सहजै चल्न पाउने, सेवा प्रदान गर्ने निकायसम्म सर्वसाधारण जान सक्ने र खुद्रा बिक्री गर्ने बिक्रेताका लागि समेत सहज हुने वातावरण तयार गर्न यो संघले माग गरेको छ ।