Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कोरोना संक्रमण बढ्दो अवस्थामा, थप फैलन नदिन यस्तो छ विज्ञहरूको सुझाव

कोरोना संक्रमण बढ्दो अवस्थामा, थप फैलन नदिन यस्तो छ विज्ञहरूको सुझाव

काठमाडौं, ६ वैशाख । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनयता नेपालमा बढ्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरिएको पनि करीब २ महीना हुन लागिसक्दा समेत संक्रमणको जोखिम घट्नुको सट्टा झनै बढेको छ । लकडाउनका कारण मानिसको दिनचर्या नराम्ररी प्रभावित भएको त छ नै, संक्रमणको अवस्था थप भयावह बन्ने संकेत समेत देखिएको छ । यस्तो बेला सम्भाव्य संक्रमण रोकथाम, स्वास्थ्य सुरक्षा एवं जनजीवन सहज बनाउन के गर्न सकिन्छ त ? यसै सन्दर्भमा सम्बन्धित क्षेत्रका विज्ञहरूको सल्लाह एवं सुझाव यहाँ प्रस्तुत गरिएको छ ।
सबैले आआफ्नो जिम्मेवारी निर्वाह गरौं
डा. रमेश महर्जन, इमर्जेन्सी विभाग, त्रिवि शिक्षण अस्पताल

नेपालमा एकजनामा देखिएको संक्रमण फैलन समय लाग्यो । तर बढ्दै जाँदा जटिल स्थितिमा आइसकेको छ । अतः संक्रमितको पहिचानसहित परीक्षण तीव्र पार्नुको विकल्प छैन । अझै केही समय लकडाउन खुलाउने अवस्था पनि छैन । बरु विभिन्न कोणबाट मूल्यांकन गर्दै खुकुलो बनाउनेतर्फ सोच्नुपर्छ ।
संक्रमण नियन्त्रणको लागि विभिन्न कोभिड सर्भिलेन्स एपहरूको पनि प्रयोग बढाउन सकिन्छ । यसको नियन्त्रणमा हरेक नागरिकको जिम्मेवारीपूर्ण भूमिका पनि हुनुपर्छ । सबैले सचेत भएर आफ्नो दायित्व पूरा गर्नुपर्छ ।
थप सुरक्षा अपनाउनुपर्छ
डा. उदय कोइराला, सिनियर कन्सल्टेन्ट सर्जन, मोडल अस्पताल

अहिले सबैले सिक्दै जाने अवस्था हो । लकडाउन कहिले खुल्छ भन्नेतर्फ बढी ध्यान दिएका छौं । तर यसमा हतार गर्नुहुन्न । संक्रमण फैलन नदिन सामाजिक–भौतिक दूरी कायम राख्दै परीक्षण गर्ने र आवश्यक सुरक्षामा ध्यान दिनु आवश्यक छ । यसबारे सचेत भएर आफूलाई बचाउँदै, अरूलाई पनि बचाउनुपर्ने अहिलेको सामाजिक दायित्व हो । ज्येष्ठ नागरिक र बिरामीहरूका लागि थप सुरक्षा अपनाउनुपर्दछ । सरकारको महत्वपूर्ण जिम्मेवारी छँदै छ, परीक्षण, उपचार र नियन्त्रणमा योजनाबद्ध काम गर्नुपर्दछ ।
ट्रेसिङ र परीक्षण लाखौंको संख्यामा गरौं
डा. अनुप सुवेदी, सरुवा रोग विशेषज्ञ

अहिले परीक्षण सीमित क्षेत्र र व्यक्तिमा मात्र भइरहेको छ । यसले कोरोना नियन्त्रण गर्न सकिँदैन । परीक्षण व्यापक बढाउनुपर्छ । विदेशबाट नेपाल आएका व्यक्तिहरूको ट्रेसिङ गर्दै सबै क्षेत्रमा यसको दायरा बढाउन जरुरी छ । विशेषगरी भारतबाट नेपाल आएका हजारौं व्यक्ति र सम्पर्कमा रहेकाहरूको केही दिनमा परीक्षण गर्नसके मात्र नियन्त्रणमा सजिलो हुन्छ । राष्ट्रव्यापी रूपमा सरकारले परीक्षणका लागि बोलाउनु प¥यो । संक्रमित बढेको थाहा पाउने संयन्त्र र सिस्टम बनाउनुपर्दछ । कन्ट्र्याक्ट ट्रेसिङ गर्ने व्यक्तिहरू थोरैमात्र परिचालित छन् । यसलाई तत्काल बढाएर काम सुरु गर्नुपर्दछ । लाखौंलाई क्वारेन्टिन र आइसोलेसनमा राख्न सक्नेगरी तयार हुनुपर्दछ । देशभित्र आउनेहरूको डिजिटल डाइरेक्टरी र एपहरूको पनि व्यापक प्रयोग गर्नुपर्दछ ।
स्वास्थ्यकर्मीको मनोबल बढाउँदै इमर्जेन्सी सेवा बढाउनुपर्छ
प्रा.डा. सुनिल कुमार जोशी
प्रमुख, कम्युनिटी मेडिसिन, केएमसी

नेपालको सन्दर्भमा कोरोना नियन्त्रणमा लागिरहेको उच्चस्तरीय समितिले पनि अझ प्रभावकारी काम गर्न नसकेको जस्तो लाग्छ । अब स्वास्थ्य संस्थाको थप तयारी र स्वास्थकर्मीलाई मनोबल बढाउँदै देशैभर इमर्जेन्सी सेवामा काम गर्नुपर्दछ । आइसोलेसनमा बसेकाको पनि टेस्ट नभएको समाचारहरू आइरहेको छ । यसर्थ अब हेलचेत्र्mयाइँ नगरौं । स्वाब टेस्टलाई सबैतिर बढाऊँ । आवश्यक स्वास्थ्य सामग्री तयार गरी सबै प्रदेश र स्थानीय निकायलाई पनि सबल बनाउँदै परिचालित गरौं ।
डिजिटल डेटा म्यानेजमेन्टमा ध्यान दिऔं
डा. सुवास प्याकुरेल, सिइओ, हेल्थ कन्सर्न

स्थानीय निकायले अहिलेको लागि प्रभावकारी काम गर्न सक्छन् । आफ्नो क्षेत्रका बासिन्दा र नयाँ आएका व्यक्तिहरूको सम्पर्क गर्न स्थानीय निकायलाई परिचालन गर्नुपर्दछ । डेटा, डिजिटल म्यानेजमेन्ट र लोकलाइज्ड म्यानेजमेन्ट अफ पेन्डेमिकको बारेमा ध्यान दिएर काम ग¥यौं भने समस्या बढ्न पाउँदैन । स्थानीय निकायले सर्भिलेन्सको सिस्टम प्रयोग गरी ट्रेसिङ गर्दै डाक्टरहरूको कन्सल्टेसनमा काम ग¥यौं भने यसलाई नियन्त्रणमा ल्याउन सक्छौं । जसरी अहिले धेरै नगरपालिकाले सर्भिलेन्स तथा क्वारेन्टाइन सिस्टमहरू प्रयोग गर्न थालेका छन्, यसलाई प्रभावकारी प्रयोग गरी टेस्टिङ, आइसोलेसन र क्वारेन्टाइनको व्यवस्था गर्न सक्यौं भने हामी नियन्त्रणतर्फ अघि बढ्न सक्छौं ।
डिजिटल हेल्थ र टेलिमेडिसिनको प्रवद्र्धनको खाँचो छ
डा. अनिल झा, एमडी, एपआरसिपी नेपाल

हामीले आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छौं । यो महामारीले डिजिटल हेल्थ र टेलिमेडिसिनको महत्व दर्शाएको छ । हामीले अहिले घरबाटै धेरै किसिमका मेडिकल सेवाहरू पनि दिन सक्छौं । दूरदराजम्म सेवा दिन पनि प्रविधिको प्रयोगमा जोड दिनुपर्छ । लकडाउन खुले पनि अनलाइन सर्भिस तथा कन्सल्टिङ सेवाहरूलाई अझ प्रभावकारी ढंगले अघि बढाउन सकिन्छ । सचेतना बढाउँदै अनलाइन सर्भिस तथा डिजिटल हेल्थलाई प्रवद्र्धन गर्न सके धेरैलाई राहत मिल्नेछ ।
सुरक्षा र सरसफाइमा ध्यान दिऔं
रश्मी महर्जन, कोभिड सर्भिलेन्स सिस्टम

हामीले यो समय व्यक्तिगत सरसफाइ, साबुनपानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने कुरा महत्वपूर्ण हो । हामीले विभिन्न एप्लिकेशन तथा प्रविधिको सही तरिकाले प्रयोग गर्न सक्यौं भने पनि नियन्त्रणको लागि सघाउ पुग्नेछ । व्यक्तिगत व्यवहार, खाना, सरसफाइले गर्दा धेरै हदसम्म हामीलाई सुरक्षित गर्दछ । सेल्फ प्रोटेक्सन पहिले सोचौं, त्यसपछि परिवार र समुदायलाई सुरक्षित राख्न सहयोग गरौं ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x