लकडाउनमा २३४ अन्तरराष्ट्रिय उडान, २५ हजार यात्रु आवतजावत
काठमाडौं, १३ असार । लकडाउन अवधिमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । उक्त यात्रु चार्टर तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु आवत जावत भएको विमानस्थलले बताएको छ । उक्त उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।
विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार लकडाउनको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टर गरी २३४ अन्तरराष्ट्रिय उडान भएको राससमा उल्लेख छ । । यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ बच्चा बाहिरिएका छन् । यो अवधिमा विभिन्न मुलुकबाट ४ लाख ९२ कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको बताइएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मात्रै कार्गो चार्टर र यात्रु चार्टर्ड गरी ५१ उडान गरेको छ ।