अन्न भण्डारमै सलह छिरेपछि किसान चिन्तित
काठमाडौं, १४ असार । मुलुकको प्रमुख अन्न भण्डार तराइका जिल्लामा सलह प्रवेश गरेपछि यसले किसानहरुमा चिन्ता थपेकेको छ । अफ्रिकाबाट बथानमा आएको फट्यांग्रा जस्तो देखिने यो किराले बालीनाली सखाप बनाइदिन्छ । पश्चिम भैरहवा र मध्य नेपालको बारा जिल्लामा शनिबार सलहको हूल देखिएको थियो । यो क्रमशः पहाडी जिल्लाहरुमा पनि उकालो लागेको छ । यद्यपि कृषि वैज्ञानिकहरुले भारतको राजस्थान या पाकिस्तानको जस्तो हूल नेपालमा नआएको भएपनि यसले पु¥याउने क्षतिका सम्बन्धमा सचेत रहन किसानहरुलाई आग्रह गरेका छन् ।
अफ्रिकाबाट पाकिस्तान आइपुगेको सलह किराले पाकिस्तानमा बालीनाली सखाप बनाएपछि पाकिस्तानी सरकारले सलह लेखेट्न र सलह मार्नेलाई प्रोत्साहनको व्यवस्था गरेको थियो । पाकिस्तानले गत फ्रेबुअरी महिनामा सलहका कारण राष्ट्रिय संकटकाल घोषणा गरी सलहबाट बालीनाली जोगाउने र मारिएका सलहलाई कुखुराको दाना बनाउने काममा प्रयोग गर्ने नीति लिएको थियो । पाकिस्तानले सलहसँग जुझ्न ७.३ अर्ब पाकिस्तानी रुपैयाँ खर्च गरेको बताइन्छ ।
पाकिस्तानमा र भारतको राजस्थान, दिल्ली (गुडगाँव) मा सलहका बथान पसेपछि नेपालमा पनि सलहका बथान आइपुग्न सक्ने सम्बन्धमा सचेत गराइएको थियो । यद्यपि नेपाली वैज्ञानिकहरुले सलह नेपालमा नआउने दाबी गरेका थिए । तर नेपालको प्रमुख अन्नभण्डार तराई क्षेत्रमा धानबाली लगाउने समयमा सलहको प्रवेशले चिन्ता थपेको छ ।
यतिबेला नेपाल पसेको सलहले मकैबाली र धानबाली नष्ट पार्नेमा किसान चिन्तित छन् । कोरोना भाइरस महामारीबाट आक्रान्त नेपाललाई खाद्यान्न संकट पर्न सक्ने भन्दै उत्पादन बढाउने सरकारको नीति छ । तर सलहको प्रवेशले बालीनाली सखाप हुन सक्ने भएकाले यससम्बन्धमा समयमै कदम चाल्नु उपयुक्त हुने विज्ञहरुको राय छ । जैविक र रसायनिक किटनाशकका अतिरिक्त सलह लखेट्न आगो बाल्ने, धुवा गराउने, हावाको बहाब परिवर्तन गर्ने, हाँस माकुरा, छेपाराजस्ता जैविक शिकारीको प्रयोग गर्ने, ध्वनिको प्रयोग गर्ने जस्ता विधि अपनाउन सक्ने बताइन्छ ।
किटनाशकमा जैविकतर्फ मेटाराइजियम तथा रासायनिकतर्फ मालाथियोन, डाइजिनस, फिप्रोनिल, बोरिक एसिड र अन्य रसायनिक किटनाशकको प्रयोग गर्न सकिने बताइएको छ ।