त्रिशुली नदिको बहावलाई छेकेर खेल मैदान बनाउदा गल्छी गाउँपालिकाको ३ गाउँ कटानको जोखिममा
नुवाकोट, १४ असार । नुवाकोटको बेल्कोटगढी नगरपालिका वडा नं ५ केउरेनीको त्रिशुली नदिको किनारमा सुरु गरिएको खेल मैदान निर्माणमा विशेष सतर्कता नपनाईएको गुनासो छ। त्रिशुली खोलाको बहावलाई छेकेर मैदान निर्माणका लागि पूर्वाधार निर्माण गर्न लागिएकाले त्यसले गल्छी गाउँपालिका वडा नं १ का केही क्षेत्र कटानमा पर्ने जोखिम बढेको स्थानीयको गुनासो छ।
नदीको बहावलाई छेकर मैदान निर्माण गर्दा वडा नं १ अन्तर्गतको फोस्रेटार, गगटे र बट्टार क्षेत्र कटानको जोखिममा रहेको गल्छी गाउँपालिका नेपाली काग्रेसका उपसभापति भाइकाजी तिबारीले बताए । ‘हामी विकास बिरोधी होइनौ, खेलमैदान निर्माण गरिनुपर्छ,’ उनले भने, ‘तर विकासको नाममा अरुलाई हानी पुर्याउनु भएन सम्बन्धित निकायले समयमै यसबारे विशेष ध्यान दिनुपर्छ ।’
अर्को त मैदान निर्माणका लागि सुरुवाती चरणमै प्रयोग गरिएका केही सामग्री कमसल रहेको पाइएको छ। निकै कमसल र चुक्किएका ह्यूमपाईपहरु प्रयोग भइरहेको पाइएको छ।
यस क्षेत्रमा मैदान निर्माण गर्दा नगरपालिकाका अधिकांशका लागि पायक नपर्ने भन्दै यसअघि पटक–पटक बिरोध भएको थियो । नगरपालिकाका स्थानीय, राजनीतिक नेतृत्व, समाजसेवी, खेलाडी लगायतले निर्णय तत्काल रोक्का आग्रह गर्दा पनि नगरपालिकाले एकलौटी ढंगले काम अघि बढाएको आरोप छ ।
खोला किनारमा मैदान बनाउदा वर्षायाममा पानीको बहाव बढ्दा मैदान बगाउने सम्भावना निकै रहेको र सो स्थानमा मैदान निर्माण गर्दा हिन्दुहरुको आस्थाको पन्चेश्वर महादेब, सुन्दरा देबिमाइ मन्दिर र मरणपाटी समेत भत्काउनुपर्ने भएकाले त्यसलाई अन्यत्र सार्नुपर्ने माग स्थानीहरुको थियो ।
सरकारको ‘एक नगरपालिका, एक एक खेल मैदान’ निर्माण अभियान अन्तर्गत यो मैदान निर्माण गर्न लागिएको हो । त्यसका लागि युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ भने नगरपालिकाले २१ लाख थप गर्ने छ ।