लकडाउनयता १ सय फर्म विभागको कारबाहीमा
काठमाडौं, १४ असार । लकडाउनका बेला बजारमा मूल्यवृद्धि, कालाबजारी, कृत्रिम अभाव सृजना गर्ने लगायत गतिविधि गर्ने करीब १ सय फर्म कारबाहीमा परेका छन् । बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा उक्त संख्यामा फर्महरू कारबाहीमा परेका हुन् । विभागका अनुसार चैत ११ देखि असार ९ गतेसम्म २२५ ओटा व्यापारिक फर्मको अनुगमन गरिएको थियो । कारबाहीमा परेका फर्महरूको जरिवानाबाट १ करोड साढे ३१ लाख असुल भएको विभागले बताएको छ ।
विभागका अनुसार यस अवधिमा अनुगमन गरिएकामध्ये पाँचवटाको कारोबार रोक्का गरिएको, तीनवटाको नमुना परीक्षणका लागि लिइएको र २५ वटा व्यावसायिक फर्मलाई स्पष्टीकरण सोधिएको छ । यस्तै ७२ वटा सामान्य अवस्थाका, २४ वटालाई सुधारको निर्देशन दिइएको छ भने अनुगमन गर्ने क्रममा झन्डै दस हजार बराबरका म्याद नाघेका वा खान अयोग्य वस्तु भेटिएकाले तत्कालै नष्ट गरिएको विभागले बताएको छ ।
लकडाउनको मौका छोपी अधिकतम खुद्रा मूल्यभन्दा बढी लिने व्यापारिक फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना तथा कारबाही गरिएको जानकारी विभागले दिएको छ । उक्त अवधिमा बढी जरिवाना तिर्नेमा बिगमार्ट, भाटभटेनी सेल्सबेरीजस्ता ठूला व्यापारिक फर्म रहेका छन् । ती व्यापारिक फर्मलाई २ लाखदेखि ३ लाखसम्म जरिवाना गरिएको छ ।
विभागले चालू आर्थिक वर्षको असार ९ गतेसम्म एक हजार ८२३ वटा व्यावसायिक फर्मको अनुगमन गरेर ८७३ वटालाई जरिवाना गरी तीन ३४ लाख ३५ हजार बढी जरिवाना असुल गरेको छ । यस्तै यस अवधिमा झन्डै दुई सय व्यापारिक फर्मलाई स्पष्टीकरण सोधेको छ भने ५६ वटाको कारोबार रोक्का गरेको छ ।