पुनःकर्जा सुविधाको अधिकतम सीमा ५ करोड
काठमाडौं, ३० असार । नेपाल राष्ट्र बैंकले पुनःकर्जा सुविधा अझै घटाएको छ । केन्द्रीय बैंकद्वारा प्रस्तावित ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि’ मा पुनकर्जा सुविधाको अधिकमत सीमा १० करोड रुपैयाँ प्रस्ताव गरिएको भएपनि कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण धेरैभन्दा धेरै व्यवसाय बचाउन सहुलियत कर्जा आवश्यकता रहेकाले यसको थ्रेसहोल्ड ५ करोड रुपैयाँ कायम गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । त्यस्तै, नेपाल राष्ट्र बैंकको मूल्यांकनमा विशेष अवस्थामा दिने पुनकर्जाको आकार २० करोड रुपैयाँ निर्धारण गरिएको छ । यो व्यवस्था आगामी मौद्रिक नीति, २०७७–७८ मा घोषणा हुनेछ ।
अर्थसमितिको बैठकमा गभर्नर अधिकारीले पुनकर्जा सुविधा झण्डै ५० हजार ऋणीले प्राप्त गर्ने र यसको प्रभाव वृहद् हुने बताए । उनले १०० अर्ब रुपैयाँको पुनकर्जा कोषलाई बढाएर दोब्बर गर्न राष्ट्र बैंक प्रयत्नशील रहेको पनि जानकारी दिए ।
कोभिड–१९ को असरले लघु र साना मझौला उद्यम (एमएसएमई) लाई गम्भीर असर पारेको ठहरसहित राष्ट्र बैंकले प्रदान गर्ने सहुलियतपूर्ण पुनर्कर्जा यस क्षेत्रमा केन्द्रित गर्ने भएको छ । कार्यविधिमा लघु तथा साना र मझौला उद्यम जोगाएर अर्थतन्त्रलाई उत्थानशील बनाउने उल्लेख छ । एसएमईलाई अर्थतन्त्रको मेरुदण्डका रुपमा लिइँदै आएको छ । यिनीहरु देशव्यापी रहेकाले समावेशी विकासको सिद्धान्त अनुसार र यस्ता व्यवसायलाई चाँडो पुनस्र्थापना गर्न र आपूर्ति शृंखला टुट्न नदिन यसतर्फ ध्यान केन्द्रित गरिएको गभर्नर अधिकारीले बताएका छन् ।
यसअघि साधारण पुनरकर्जा र विशेष पुनर्कर्जाका रुपमा यस्तो सुविधा दिँदै आएको राष्ट्र बैंकले अब भने नयाँ शीर्षकमा पनि पुनर्कर्जा सुविधा दिन लागेको हो । राष्ट्र बैंकले कर्जाको सीमा तोकेर लघु, घरेलु तथा साना उद्यमीलाई पुनरकर्जा सुविधा दिने प्रस्ताव गरेकोे पहिलो पटक हो । यसभन्दा अघि अघि साना व्यवसायको ऋणलाई समेत पुनर्कर्जा सुविधा दिने व्यवस्था भए पनि यसरी लक्षित गरिएको थिएन ।
राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यमका लागि १५ लाखसम्म पुनर्कर्जा प्रदान गर्न सक्ने व्यवस्थाको प्रस्ताव गरेको छ । बैंकहरुको आग्रहअनुसार राष्ट्र बैंकले मूल्यांकन गरेर प्रदान गर्ने पुनर्कर्जाका लागि भने २० करोड रुपैयाँको उच्चतम सीमा निर्धारण भएको छ ।
राष्ट्र बैंकले विशेष पुनरकर्जाका लागि १ प्रतिशत ब्याजमा विशेष पुनर्कर्जा सुविधा बैंकहरुलाई दिने छ । त्यस्तो सुविधा लिने बैंकले ३ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिनुपर्छ । भूकम्पपछिका पुनरनिर्माणका लागि दिएको वा बेग्लै ब्याजदर तोकिएका अन्य विशेष पुनर्कर्जाको ब्याजदरभने सोही अनुसार हुने राष्ट्र बैंकले प्रस्ताव गरेको छ । लघु घरेलु तथा साना उद्यमका लागि २ प्रतिशत र साधार पुनर्कर्जाका लागि ३ प्रतिशत ब्याजमा राष्ट्र बैंकले पैसा दिने छ । त्यो पैसा बैंकहरुले ५ प्रतिशत ब्याजमा लगानी गर्नुपर्ने हुन्छ ।
कृषि उत्पादन, प्रशोधन, पशुपंछी पालन, मत्यपालनजस्ता व्यवसायिक कृषिमा कार्यरत स्वरोजगार वा वैदेशिक रोजगारीबाट फर्केका उद्यमीले पुनर्कर्जा सुविधामा प्राथमिकता पाउने प्रस्ताव राष्ट्र बैंकले गरेको छ । सञ्चालनमा रहेका वा प्राकृतिक प्रकोप एवम् महामारीका कारण बन्द भएका उद्यम व्यवसायलाई पनि ५ प्रतिशत ब्याजमा बैंकबाट ऋण लिने बाटो यस कार्यविधिले खुला गर्नेछ । निर्यातजन्य उद्योग, रुग्ण तथा प्राकृतिक प्रकोपका कारण प्रभावित भएका क्षेत्र र न्यून आय भएका एवम् संरक्षित नागरिकले सञ्चालन गरेका उद्यम व्यवसायलाई सुलभ ब्याजदरमा कर्जा दिन राष्ट्र बैंकले विशेष पुनरकर्जाको प्रयोग गर्छ । बाँकी सबै किसिमका पुनरकर्जालाई साधारण पुनरकर्जामा समावेश गर्नुपर्नेछ ।
यसका अतिरिक्त जलविद्युत् परियोजना, कृषि क्षेत्र, पशुपंक्षि तथा मत्स्यपालन व्यवसाय, उत्पादनमुलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, सार्वजनिक यातायात, औषधि उद्योग, डाइग्नोस्टिक सेण्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहोरमैला प्रशोधन उद्योगलगायतलाई साधारण पुनर्कर्जा सुविधा दिने प्रस्ताव गरेको छ । यससँगै कोभीड-१९ लगायत संक्रामक रोगजन्य महामारीका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्यमी व्यवसायीले भविष्यमा त्यस्ता उद्योग व्यवसाय सञ्चालनमा आउने सुनिश्चितता दिलाएर त्यस्तो कर्जामा पनि पुनर्कर्जा सुविधा लिन सक्ने प्रस्ताव गरिएको छ ।