प्रभुु क्यापिटल र समृद्धि क्यापिटलबीच मर्जरपछि एकिकृत कारोबार सुरु
काठमाडौं, २९ असार । प्रभु क्यापिटल र समृद्धि क्यापिटलबीच आपसमा मर्ज भई सोमबारदेखि एकिकृत कारोबार सुरु भएको छ । पूँजीबजारमा मर्चेन्ट बैंकरको रुपमा कार्यरत यी दुई कम्पनी एक आपरमा मर्ज भई प्रभु क्यापिटल लिमिटेडको नामबाट एकिकृत कारोबारको सुरुवात भएको हो ।
उक्त एकिकृत कारोबारका उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले गरेका हुन् । कार्यक्रममा उनले मर्जपछिको प्रभु क्यापिटलले गुणस्तरीय सेवा प्रदान गरी पूँजीबजारमा महत्वपूर्ण योगदान दिन्छ भन्ने विश्वास लिएको बताए । आफ्नो क्षमता र योग्यता देखाउन सक्ने संस्था मात्र बजारमा रहन सक्ने भन्दै अध्यक्ष ढुङ्गानाले प्रभु क्यापिटलले दरिलो स्थान बनाउने विश्वास व्यक्त गरे । उनले नेपालमा सेक्युरिटाइजेसनको अवधारणा नभएको हुँदा धितोपत्र बोर्डले यसतर्फ समेत ध्यान दिइरहेको जानकारी दिए ।
कार्यक्रममा तत्कालिन समृद्धि क्यापिटलका अध्यक्ष एलपिभानु शर्माले पूँजीबजारमा ठूलाठूला संस्थाहरु नबनिकन देश नबन्ने भन्दै नेपाल धितोपत्र बोर्डलाई नियामकीय दायरा फराकिलो बनाईदिन आग्रह गरे । त्यस्तै प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले कोभिड १९ को महामारीका कारण पूँजीबजारले विषम परिस्थिति भोगेको भएतापनि आउने दिनमा थप परिस्कृत भई नयाँ उचाई छुने विश्वास व्यक्त गरे । उनले देशको राजनीतिक अवस्थाले आर्थिक क्षेत्रमा प्रभाव पर्ने भन्दै आर्थिक क्षेत्रको विकासका लागि स्थिर सरकार र आर्थिक क्षेत्र प्रति सकारात्मक र बलियो धारणा राख्ने सरकार हुनुपर्ने बताए ।
त्यसैगरी कार्यक्रममा मर्जर कमिटिका संयोजक रहेका तत्कालिन प्रभु क्यापिटलका अध्यक्ष बिनोद थकालीले प्रभु ब्राण्ड नेपालभित्र मात्रै नभएर संसारभर फैलिएकोले यसले इतिहास सच्ने बताए । मर्जर पश्चात क्यापिटलको अधिकृत पूँजी १ अर्ब रुपैयाँ र चुक्तापूँजी ८१ करोड ७१ लाख रुपैयाँ पुगेको थकालीले जनाकारी दिए ।