सनराइज बैंकका सञ्चालकको विवाद बढेपछि राष्ट्र बैंकले बोलायो
काठमाडौं, ११ साउन । सनराइज बैंकका सञ्चालकहरुबीच विवाद बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले त्यसको समाधानका लागि सञ्चालक र सीईओलाई आज राष्ट्र बैंकमा बोलाएको छ । राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले विवादरत मोतीलाल दुगड र मालचन्द दुगड दुवै समूहलाई बोलाएर छलफल गर्न लागेको हो ।
सञ्चालकहरुको झगडाका कारण सीईओ जनकराज शर्मा पौड्यालले चेपुवामा परेको गुनासो गर्ने गरेका छन् । उनले विवाद बढ्दै गए आफू त्यसमा नअल्झने र राजीनामा गर्ने चेतावनी दिइसकेका छन् । मालचन्द दुगडले मोती दुगडलाई अध्यक्षबाट हटाउन सबै अवयव प्रयोग गर्दै आइरहेका छन् । उनले सर्वसाधरण सेयरधनीका तर्फबाट बैंकमा सञ्चालक बनेका स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष शैलेन्द्र गुरागाईंलाई समेत प्रयोग गरेका छन् । तर मोतीलाल दुगड कुनै हालतमा अध्यक्ष छाड्न तयार छैनन् ।
सञ्चालकहरुको झगडाका कारण बैंकका कामकारबाहीमा समस्या सिर्जना हुँदै आएको छ । अहिले सनराइजमा सिर्जना फाइनान्स गाभ्ने विषयमा पनि सञ्चालकहरुबीच विपरित धारणा रहँदै आएको छ ।