सुशील भट्ट लगानी बोर्डको सीईओ
कठमाडौं, १९ साउन । सरकारले लगानी बोर्डको सीईओमा सुशील भट्टलाई नियुक्त गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्ट खुला प्रतिस्पर्धाका आधारमा लगानी बोर्डको सीईओ छनौट भएका हुन् । अर्थमन्त्री डा. युवराज खतिवडा नेतृत्वको छनौट समितिले भट्ट, विद्युत् नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा र प्रदेश १ को लगानी बोर्डका सीईओ डा. सरोज कोइरालाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिश गरेका थियो, सोही आधारमा मन्त्रिपरिषद्को सोमबारको बैठकले भट्टलाई सीईओ छनौट गरेको हो ।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकको सीईओ नियुक्त भएपछि बोर्डको सीइओ पद रिक्त रहेको थियो । उक्त पदका लागि १२ आवेदन परेको थिए ।
आवेदकहरुमध्येका एक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवाली स्वेच्छाले अन्तिम चरणको प्रतिस्पर्धाबाट बाहिरिएपछि सरकारले भट्टलाई नियुक्त गर्ने निश्चित जस्तै भएको थियो । भट्टलाई प्रधानमन्त्री ओलीले राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त गरेका थिए । उनी प्रधानमन्त्री ओलीका निकटस्थ हुन् । भट्ट पेशागत रुपमा इन्जिजियर हुन् । उनीसँग बैंकिङ क्षेत्रमा पनि काम गरेको अनुभव छ । भट्टले योजना आयोगमा छँदा प्रोजेक्ट बैंक र प्राजेक्ट रेडिनेस फिल्टरका आधारमा तयारी परियोजना र कार्यक्रममा मात्र बजेट विनियोजन गर्ने अवधारणा कार्यान्वयनमा ल्याएका थिए ।