आजदेखि जोरबिजोर यातायात प्रणाली, संक्रमणको जोखिमसँगै सचेत हुन आग्रह
काठमाडौं, २२ साउन । सरकारले आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । आवागमन बढेसँगै कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सरकारले आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरेको गृह मन्त्रालयले उल्लेख गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धि मापदण्ड र गृह मन्त्रालयले जारी गरेको सुरक्षा सम्बन्धि मापदण्ड पूर्ण रुपमा पालना गर्न आह्वान गर्दै जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्ने व्यक्ति, संस्था तथा समूहलाई दण्ड जरिवाना गरिने उल्लेख छ ।
मालबहाक ढुवानीका साधन बाहेक काठमाडौं उपत्यका प्रवेशमा यात्रुबहाक सवारी साधन र यात्रुहरुलाई साँझ ७ बजेदेखि बेलुका ७ बजेसम्म रोक लगाइएको छ । कोभिड–१९ को संक्रमण बढेसँगै देशव्यापी लकडाउन हुनसक्ने चर्चा चलिरहँदा सरकारले भने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जोखिमको विश्लेषण गरी संक्रमण न्यूनीकरणका आवश्यक उपाय लागू गर्न सक्ने उल्लेख गरेको छ । अहिले स्थानीय सरकार आफैं सक्रिय भएर जोखिम विश्लेषणका आधारमा आवश्यक कदम चाल्दै आएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय सीमा नाकामा आवातजावतको अनुमगमन कडा बनाइएको छ । भदौ १ देखि सञ्चालन गर्ने भनिएको वायुसेवा (अन्तर्राष्ट्रिय र आन्तरिक)का सम्बन्धमा भने कुनै निर्णय भएको छैन । होटल, रेष्टुरेण्टमा सामूहिक भोज, पार्टी, सेमिनार गर्न निषेध गरिएको छ ।