अर्थमन्त्री खतिवडा र बंगलादेशका राजदूत मास्फीबीच शिष्टाचार भेट
काठमाडौं, २३ साउन । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सबीच शिष्टाचार भेट भएको छ । ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश फर्कन लागेकी राजदूतले अर्थमन्त्रीसँग बिदाई भेट गरेकी हुन ।
भेटमा अर्थमन्त्रीले नेपाल र बंगलादेश बीच ५ दशकभन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दै द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा सहकार्य भैरहेको बताए । उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने बताए ।
त्यस्तै, राजदूत मास्फीले नेपालमा ७ बर्षको सफल कार्यकाल पूरा गरि बंगलादेशको विदेश मन्त्रालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पुर्याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद व्यक्त गरिन ।