स्टक डिलरमा सहभागी हुन १ वर्षमा कम्पनीको ८० प्रतिशत कारोबार हुनुपर्ने
काठमाडौं, २७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कार्यविधिमार्फत् धितोपत्र व्यापारी (स्टक डिलर)मा सहभागी हुन कम्पनीको १ वर्षको कारोबार अवधि ८० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । आगमी भदौ १ गतेदेखि लागु हुने उक्त धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ मा यस्तो व्यवस्था गरिएको हो ।
नेप्सेले स्टक डिलरहरुका लागि कारोबार योग्य कम्पनीहरुको नामावली वेभसाइटमार्फत् सार्वजनिक गर्ने बताएको छ । कम्पनी छनोट गर्दा स्टक डिलरहरुले कार्यविधिमा उल्लेख भएअनुसारको मापदण्ड पुरा गरेको छनोट गर्नुपर्ने छ । कार्यविधिमा उल्लेख भएअनुसार स्टक डिलरमा सहभागी हुनका लागि कम्पनी वितग ३ वर्षदेखि नाफामा रहेको हुनुपर्ने छ । त्यस्तै लगानीकर्ताको संख्या कम्तिमा १० हजार रहेको र चुक्तापूँजी २० करोड रुपैयाँभन्दा बढी हुनु पर्नेछ ।
प्रत्येक वर्ष कारोबार योग्य कम्नीहरुको सूची अद्यावधिक नेप्सेले गर्नेछ । स्टक डिलरले शेयर खरिद विक्री कम्पनीको चुक्तापूँजीको आधारमा गर्नु पर्नेछ । ८ अर्ब रुपैयाँ वा सोभन्दा बढि चुक्तापूँजी भएको कम्पनीको ५० हजार कित्तासम्म शेयर खरिद विक्री गर्न पाउँने व्यवस्था गरिएको छ । त्यस्तै ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्ब रुपैयाँभन्दा कम चूक्तापूँजी भएको कम्पनीको ४० हजार कित्ता शेयर स्टक डिरले खरिद विक्री गर्न पाउँने छ । २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम चुक्तापूँजी भएको कम्पनीको ३० हजार कित्ता शेयर खरिद विक्री गर्न पाउँने कार्यविधिमा उल्लेख छ ।
त्यसैगरी १ अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँभन्दा कम चुक्तापूँजी भएको कम्पनीको २५ हजार कित्तासम्म, ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँभन्दा कम चुक्तापूँजी भएको कम्पनीको २० हजार कित्तासम्म र २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम चुक्तापूँजी भएको कम्पनीको १० हजार कित्ता शेयर स्टक डिलरले खरिद विक्री गर्न पाउँने छ ।