ट्रकमा फल्स बटम बनाइ सामान तस्करी गर्नेलाई राजस्वको मुद्दा
काठमाडौं, ७ भदौ । भारतीय ट्रकमा फल्स बटम (छुट्टै नदेखिने क्याबिन कोठा) राखेर तस्करी गर्ने रजनीश कुमार र राजु थापा भनिने राजेन्द्र थापा समेत ६ जनालाई भन्सार चोरी पैठारीको अभियोगमा राजस्व अनुसन्धान विभागले ३ करोड १९ लाख रुपैयाँ बिगो काष्म गरी उक्त विगो असुल उपर गरी जरिवाना र कैद समेतको माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
प्रतिवादी गुप्ता वीरगन्ज उपमहानगरपालिका वडा नं.१० का बासिन्दा हुन् भने थापा खैरहनी नगरपालिका ३ चितवनका हुन् । उनीहरुले भारतबाट भन्सार जाँचपासको लागि मालवस्तु लिइ आउने ट्रकभित्र नदेखिने क्याबिन कोठा बनाएर भारतबाट कपडाहरुको तस्करी गरिरहेको पाइएकाले राजस्व चुहावट तथा छलीको अभियोगमा उनीहरुलाई राजस्व चुहावट नियन्त्रण ऐन अन्तर्गत मुद्दा दायर गरिएको हो । ट्रक चालक सुनील कुमारलाई बरामद मालवस्तुको मुल्य ५३ लाख २९ हजार रुपैयाँ विगो कायम गरी राजस्व चुहावट नियन्त्रण ऐन, २०५२ को दफा २३ (१० बमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । अन्य प्रतिवादीहरुमा बारा जिल्ला कलैया नगरपालिका वडा नं. ८ आदर्श टोल स्थायी ठेगाना भइ काठमाडौंमा कपडा पसल सञ्चालन गरी उक्त कार्य व्यवस्थापन गर्ने रञ्जित कुमार गुप्ता र मेरब बी २०४ अपार्टमेन्ट विकासीपुरी दिल्ली ठेगाना भइ अहिले ललितपुर महानगरपालिकाको सनराइज टावरमा बसोबार गर्ने सृजन शर्माको नाममा पशुपति ट्रान्सपोर्ट सोलुशन फर्मबाट हुने कारोबारको व्यवस्थापन रजनीश र राजुले गर्दै आएका थिए । मुख्य भूमिका निर्वाह गरेकाले रजनीश गुप्ता र राजु थापालाई बिगोका अतिरिक्त ट्रकमा लुकाई छिपाई यो भन्दा पहिले पटक–पटकगरी ५ पटक सामान तस्करी गरी नेपालमा बिक्री वितरण गरेको अभियोगमा ३ करोड १९ लाख बिगो तथा जरिजाना माग गरी मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।