अनलाइन कारोबारमा लगानीकर्ताको आकार्षण, ३ अर्ब ४६ करोडभन्दा बढीको कारोबार
काठमाडौं, १५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आनलाइन कारोबारलाई प्राथमिकता दिएसँगै नेप्से परिसूचक र कारोरबार रकम वृद्धि हुन थालेको छ । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेयता अनलाइनमार्फत शेयर कारोबार गर्नेको आकर्षण बढेको हो । अनलाइनमार्फत लगानीकर्ताहरुले स्वइच्छाले चाहेको कम्पनीमा लगानी गर्न सक्ने भएको हुँदा शेयर कारोबार र परिसूचकमा वृद्धि हुन थालेको जानकारहरु बताउँछन् ।
सोमबार नेप्से परिसूचक २२ अंक बढेसँगै कारोबार रकमा पनि उलेख्य वृद्धि भएको छ । सोमबार नेप्से परिसूचक २२.३१ अंक वृद्धि भई १४८४.९९ विन्दुमा उक्लिएको हो । यो दिन १८९ कम्पनीको ४० हजार २०६ पटकको कारोबारमा ७७ लाख ६३ हजार ५६ कित्ता शेयर ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको प्रतिशेयर मूल्य ६२ रुपैयाँ वृद्धि भएको हो । शिखरको अन्तिम शेयर मूल्य १ हजार ३०२ रुपैयाँ कायम भएको छ ।
त्यस्तै नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सबैभन्दा बढी रुपैयाँको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको २८ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको हो । आज यो कम्पनीको प्रतिशेयर मूल्य ८४७ रुपैयाँ कामय भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये होटल समूहको परिसूचक घटेको छ भने बाँकी समुहहरुको परिसूचक वृद्धि भएको छ । होटल समूहको परिसूचक ०.०५ प्रतिशत घटेको हो । त्यस्तै आज सर्वाधिक परिसूचक वृद्धि अन्य समूहको भएको छ । यो समूहको परिसूचक ४.१२ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी हाइड्रो पावर समूह, निर्जीवन बीमा समूह र उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।