४ गुणाले बढ्यो भटमासको प्रशोधित तेल निर्यात
काठमाडौं, १६ भदौ । नेपालबाट भटमासको प्रशोधित तेल निर्यात उत्साहजनक रूपमा बढेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष (आव)को साउनको तुलनामा चालू आवको साउन महिनामा यसको निर्यातमा ४०० प्रतिशत अर्थात् ४ गुणा वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत आर्थिक वर्षको पहिलो महिना साउनमा ४५ करोड रुपैयाँ बराबरको प्रशोधित भटमास तेल निकासी भएकोमा चालू आवको सोही अवधिमा २ अर्ब २७ करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सार विभागको तथ्यांक छ ।
भटमास तेल नेपालको आफ्नै उत्पादन नभई कच्चापदार्थको रूपमा दाना आयात गरेर प्रशोधन गरी निर्यात हुने गरेको छ । नेपाली व्यवसायीले अर्जेन्टिना, ब्राजिल, पारागुवे, इन्डोनेशिया, युक्रेन लगायत देशबाट यसको आयात गर्छन्, जस अन्तर्गत चालू आवको साउनमा रू. २ अर्ब ५६ करोड बराबरको भटमास आयात भएको छ ।
नेपालबाट सबेभन्दा धेरै निकासी हुने पहिलो पाम आयल हो भने यसपछिको दोस्रो वस्तुमा भटमास तेल रहेको छ । यी दुवैको मुख्य बजार भारत हो । गत आवमा नेपालबाट १८ अर्ब ३१ करोडको पाम आयल र १२ अर्ब ६९ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ । पाप आयल र भटमास तेलपछि नेपालबाट बढी निकासी हुने वस्तुहरू क्रमशः चिया, अलैंची र गलैंचा छन् ।