चाँगुनारायण नगरपालिकाद्वारा “वचत खाता छोरीको, सुरक्षा जीवन भरीको” योजना सुरु, नेपाल बैंकमा खाता खेलिने
काठमाडौं, २८ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले छोरीको सुरक्षाका लागि बचत योजना सुरु गरेको छ । नेपाल बैंकको सहकार्यमा नगरपालिकाले “वचत खाता छोरीको, सुरक्षा जीवन भरीको” भन्ने नारासहित बचत खाता योजना प्रारम्भ गरेको हो ।
उक्त योजना सञ्चालन गर्न नगरपालिका र बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ । यो योजनाअन्र्तगत नगरपालिका भित्रका सामुुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको नाममा नेपाल बैंकमा खाता खोल्ने र उक्त खातामा नगरपालिकाद्वारा प्रत्येक बर्ष ४ हजार जम्मा गर्दै जाने व्यवस्था मिलाईने नगरपालिकाले जनाएको छ । सम्झौतावमोजिम शून्य मौज्दातमा खोलिएका त्यस्ता खातामा बैंकले बचत खाताहरुमा प्रदान गर्ने उच्चतम व्याजदर प्रदान गर्ने, बैंकमा खोलिएको खातामा रकम जम्मा गर्ने/झिक्ने लगायतका अन्तर बैंकिङ्ग सेवामा कुनै पनि शूल्क नलाग्ने लगायतका सुविधाहरु प्रदान गर्नु पर्नेछ ।
साथै नगरपालिकाको सिफारिसमा खोलिएका खाताहरुमा ३ लाख रुपैयाँसम्मको निक्षेप बीमासमेत गरिनेछ । यस प्रकारका खातामा बालिका आफैले वा उनिहरुका अभिभावकहरुले समेत रकम जम्मा गरिदिन सक्नेछन् । यस प्रकारको कार्यक्रमबाट छात्राहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्न, बिचैमा बिद्यालय छोड्नेलाई निरुत्साहित गर्न, गुणस्तरीय शिक्षा प्रदान गर्न, वालविवाह निरुत्साहन गर्न, छोरीहरुको आर्थिक र सामाजिक सुरक्षा गरी सुरक्षित भविष्य निर्माणमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उक्त रकम छात्राहरुले १२ कक्षा उत्तिर्ण गरे पश्चात मात्र झिक्न पाउनेछन् ।
त्यसैगरी सोहि अवसरमा नगरपालिका र बैंकबीच “मेयर उद्यमशीलता विकास कार्यक्रम” अन्तर्गत ऋण प्रवाह तथा व्याज अनुदान सम्बन्धमा समेत सम्झौता भएको छ । उक्त सम्झौता गरपालिका क्षेत्रका कृषि तथा पशुपंक्षीजन्य व्यवसाय प्रवर्धन तथा चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रम निर्देशिका, २०७७ अन्तर्गत उद्यमशिल बन्न चाहने नगरबासीले बैंकले दिने सेवा प्राप्त गर्न सक्ने छन् ।
दुबै सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोमप्रसाद मिश्रले हस्ताक्षर गरेका हुन् ।
हाल नेपाल बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टर मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।