अध्यागमन भिसा सेवा सुचारु, झापा र पोखराबाट समेत गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता भिसा
काठमाडौं, २९ भदौ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि १ महिना बन्द रहेको अध्यागमन विभागको भिसा सेवा सुचारु भएको छ । साउन २६ देखि बन्द रहेको भिसा सेवा आइतवारदेखि पुनः सञ्चालन भएको हो ।
विभागले गत चैत ८ गतेसम्मको भिसा भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान शुरू भएको मितिले १५ दिनभित्र स्वदेश फर्कने भए निःशुल्क भिसा दिने भएको छ । विभागको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र सीमा नाका अध्यागमन कार्यालयबाट निःशुल्क भिसा दिएर विदेशीलाई प्रस्थान गराइने बताइएको छ । साथै चैत ८ गतेसम्मको पर्यटक भिसा लिएका र उडान सञ्चालन भए पनि विभिन्न कारण आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीलाई मंसिर मसान्तसम्म शुल्क लिएर पर्यटक भिसा दिने तयारी गरिएको छ ।
विभागका अनुसार पर्यटक वा अन्य भिसा रूपान्तरण गर्न चाहनेलाई १५ दिनभित्र जरीवाना र विलम्ब शुल्क नलिई नवीकरण गर्न सकिनेछ । यस्तै चैत ८ गतेसम्म पर्यटक भिसा नियमित भएका पर्यटकले गत साउन ३० सम्म १ सय ५० दिन निःशुल्क भिसामा बसे पनि साउन ३० पछि मंसिरसम्म शुल्क तिरेर भिसा नवीकरण गर्न सक्नेछन् ।
यसअघि डिल्लीबजारको कालिकास्थानस्थित अध्यागमन कार्यालयबाट मात्र हुँदै आएको गैरआवासीय नेपाली तथा गैरपर्यटक नाता भिसा अब झापा र पोखराबाट समेत वितरण हुनेछ । अध्यागमन कार्यालय काँकरभिट्टा र कास्कीबाट राहदानी तथा नवीकरणसम्बन्धी सेवा प्रवाह हुने जानकारी विभागले दिएको छ । सरकारले कोरोना संक्रमणका कारण करीब ५ महीनादेखि बन्द गरेको अन्तरराष्ट्रिय उडानलाई भदौ १६ गतेदेखि नियन्त्रित रूपमा खोलेको थियो ।