सञ्चय कोषको सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउँन प्रविधिलाई प्राथमिकता दिनु पर्छ : अध्यक्ष पुँडासैनी
काठमाडौं, ३१ भदौ । कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुँडासैनीले कोषको सेवालाई झन्झटमुक्त बनाउँन प्रविधिको प्रयोगमा उच्चतम प्राथमिकता दिनुपर्ने बताएका छन् । कोषको ५९ औं वार्षिकोत्सवको अवसरमा बोल्दै अध्यक्ष पुँडासैनीले कोषको सेवा प्रवाहलाई चुस्त दुरुस्त र व्यवस्थित बनाउँन आवश्यक रहेको बताएका हुन् ।
उनले आगामी दिनमा कोषको नीतिलाई समय सापेक्ष परिमार्जन गर्दै ग्राहकमैत्री बनाउँने पनि जानकारी दिए । सञ्चय कोषले आफ्ना ग्राहलाई अझ सन्तुष्टि प्रदान गर्न रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाई छ । सञ्चयकर्ताद्वारा संकलित वित्तीय स्रोत परिचालनमा मितव्यायी र पारदर्शी हुनु पर्ने पुँडासैनीले बताए । सरकारबाट स्थापित अन्य कोषहरुसँग यो कोषले प्रतिस्पर्धा गर्न स्पष्ट उद्देश्य राख्नु पर्ने उनको भनाइ छ ।
त्यस्तै कोषका प्रशासक तुल्सी प्रसाद गौतमले सञ्चयकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालन, प्राप्त प्रतिफलको न्यायोचित वितरण र सेवा प्रवाहमा गुणात्मक सुधार गर्दै सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति कोष सदैव क्रियाशील रहने प्रतिवद्धता जनाए । कार्यसम्पादन सम्झौतामा राखिएका लक्ष्यको तुलनामा कोषको उपलब्धी उत्साहजनक रहेको गौतमले जानकारी दिए ।
सञ्चय कोषको वर्तमान अवस्था
स्थापना कालदेखि सञ्चय कोष योगदानको मात्र व्यवस्थापन गर्दै आएकोमा कर्मचारी सञ्चय कोषले निवृत्तभरण कोष ऐन, २०७५ जारी भएपछि योगदानमा आधारित निवृत्तभरण कोषको व्यवस्थापन गर्न सुरु गरेको छ । जस अन्तर्गत निजामती सेवा, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल विशेष सेवा अन्तर्थत वि.सं. २०७६ साउनदेखि नयाँ नियुक्त भएका कर्मचारीहरुको योगदानमा आधारित निवृत्तभरण योजनाको कार्यान्वयन गर्दै आएको छ ।
कोषले केन्द्रीय कार्यालय पुल्चोक, प्रमुख कारोबार स्थल ठमेल लगायत ७ वटा प्रदेशमा रहेका आठवटा शाखा कार्यालय र तीनवटा सेवा केन्द्रबाट सेवा दिँदै आएको छ । कोषले केन्द्रीय कार्यालय, शाखा कार्यालय र सेवा केन्द्रबाट ६ लाख २८ हजार सञ्चयकर्ताको ३ खर्ब ८७ अर्ब १५ करोड रुपैयाँभन्दा बढी वित्तीय स्रोतको परिचालन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा १३.०७ प्रतिशतले बढी हो ।