५० प्रतिशतभन्दा बढी लघु, साना–मझौला उद्यम स्थायी रुपमै बन्द
काठमाडौं, ८ असोज । कोरोना भाइरस महामारी (कोभिड–१९) का कारण नेपाली व्यवसायहरुले इन्टनेट, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्महरुको प्रयोग गर्ने क्रम बढेको छ । पुरातन पद्धतिमा आधारित बिक्री घटेपछि नयाँ तरिकाबाट बजारको अवसर खोजी गर्न उनीहरुले यस्ता उपाय अपनाउन लागेको अन्तर्राष्ट्रिय वित्त निमग (आइएफसी) को एक अध्ययनले देखाएको छ । ‘कोभिड–१९ नेपाल, व्यवसायिक पल्स सर्भे’ जापान सरकारको सहयोग तथा विश्व बैंक र आइएफसीको पहलमा मे २५ देखि जुन १० सम्म सञ्चालन गरिएको थियो । यसले पाँच मध्ये एकले व्यावसायिक प्रयोजनका लागि इन्टरनेट, सामाजिक सञ्जाल, विशिष्टीकृत एप्लीकेसनहरु प्रयोग गरिरहेको पाइएको छ ।
सर्वेक्षणले नेपालका लघु, साना र मझौला उद्यममध्ये आधाजति कोभिड–१९ को असर अर्को एक महिना लम्बिए स्थायी रुपमै बन्द हुने क्रममा रहेको उल्लेख गरेको छ । यो सर्भेमा ५४० ओटा फर्मले सर्वेक्षण प्रश्नावलीको उत्तर दिएका थिए । नमुना संकलनको आकार तुलनात्मक रुपमा सानो भएपनि यो अध्ययनले ८० प्रतिशत व्यवसाय बिक्रीमा कमीसँगै कामदारहरुलाई तलब र ज्याला दिन नसक्ने अवस्थामा पुगेको र उनीहरुलाई बेतलबी बिदा दिने, काम गर्ने समय र ज्याला कटौती गर्ने या रोजगारी कटौतीको चरणसम्म पुगेको औंल्याएको छ ।
आइएफसीका तर्फबाट दक्षिण एसियाका लागि परामर्श सेवा प्रबन्धक रोल्फ बेहन्दतले कोभिड–१९ का कारण लघु, साना र मझौला उद्यम ठूलो बोझले थिचिएको चर्चा गर्दै यी व्यवसायले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले यिनलाई विभिन्न उपयाबाट जोगाउनपर्ने धारणा राखे । माग र बिक्रीमा कमी सँगै ठूलो संख्यामा मानिसहरु बेरोजगार भएका छन् । यसले अझै लामो समय उत्पादन र मागमा असर पारिराख्नेछ । त्यसकारण यस्ता उद्यमहरुको सम्भाव्यता अझै न्यून हुँदै गएको छ ।
४५ प्रतिशत उद्यमहरुले आफ्ना कर्मचारीलाई बिदा दिएका छन्, २७ प्रतिशतले काम गर्ने समय घटाएका छन् । प्रायः सबै क्षेत्रमा १२ प्रतिशतजति महिलाहरु कम तलबमा काम गरिरहेका छन् । कोभिड–१९ महामारीले नेपालको अर्थतन्त्रमा ठूलो धक्का दिएको छ । ८३ प्रतिशत फर्महरुले अघिल्लो वर्ष यसै समयको भन्दा आम्दानी उल्लेख्य घटेको बताएक छन् । आइएफसीका तर्फबाट नेपाल, बंगलादेश र भुटानका लागि राष्ट्रिय प्रबन्धक वेण्डी वेर्नरले अर्थतन्त्रको पुनस्र्थापना र आर्थिक वृद्धिदरको दीगोपनाका लागि यस्ता व्यवसायको महत्वपूर्ण भूमिका हुने भन्दै यो अध्ययनका निष्कर्षक आधारमा नेपालले तिनीहरुको पुनस्र्थापनाका कदम अघि बढाउन सक्ने धारणा राखिन् ।
लघु र साना मझौला उद्यमले देशको अर्थतन्त्रमा २२ प्रतिशत योगदान गर्छन् । १७ लाख ५० हजार मानिसहरु यसमा रोजगारी पाइरहेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार, कोभिड–१९ को असरका कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा ठूलो संकुचन आउने अनुमान गरिएको छ ।