२.५ करोड रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता सरकारलाई थाहा छैन
काठमाडौं, १४ असोज । रुसमा बनेको स्पुतनिक भी भ्याक्सिन २ करोड ५० लाख डोज नेपाल ल्याउने ट्रिनिटी फर्मास्युटिकल्सको सम्झौताबारे नेपाल सरकारले अनभिज्ञता प्रकट गरेको छ । कोभिड–१९ विरुद्धका यी भ्याक्सिन नेपाल ल्याउन सम्झौता भएको सम्बन्धमा मंगलबार रुसी सञ्चारमाध्यमहरु र समाचार संस्था रोयटर्सले समाचार प्रकाशन तथा प्रसारण गरेका थिए ।
यसरी खोप ल्याउँदा औषधी व्यवस्था विभागसँग स्वीकृति लिनुपर्ने प्रावधान छ । स्वास्थ्य मन्त्रालयले औषधी व्यवस्था विभागसँग ट्रिनिटीले भ्याक्सिन ल्याउने सम्झौता गरेको जानकारी नभएको उल्लेख गरेको छ ।
तर ट्रिनिटी फर्मास्युटिकल्सका निर्देशक भन्दै सञ्चारमाध्यममा आएका किशोर अधिकारीले रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्डसँगको सहकार्यमा भ्याक्सिन नेपाल ल्याउने सम्झौता भएको उल्लेख गरेका छन् । उनले ट्रिनिटीले स्पुतनिक भीको अन्तिम ट्रायल पर्खिरहेको भन्दै नेपाल सरकारले स्वीकृत गर्नेबित्तिकै सबै नेपालीलाई भ्याक्सिन उपलब्ध गराउने उल्लेख गरेका छन् ।
रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड रुसको राष्ट्रिय कोष हो । ट्रिनिटीले सम्झौता गरे बराबरको भ्याक्सिनले नेपालका ९० प्रतिशत जनतालाई खोप पुर्याउन सकिन्छ । रुसले कोरोना भाइरसको भ्याक्सिन विकास गरी आफनो देशमा प्रयोग गर्न शुरु गरिसकेको छ । यद्यपि अन्तिम र तेश्रो चरणको परिक्षणमा मापदण्ड अनुसरण नगरिएको भन्दै विश्व स्वास्थ्य संगठनले यसलाई मान्यता दिएको छैन । तर विभिन्न देशले रुसी खोप किन्ने सम्झौता गरिसकेका छन् । रुसले २५० भन्दा बढी क्लीनिकल ट्रायल तथा ७५ भन्दा बढी जर्नल लेखहरुको माध्यमबाट यो भ्याक्सिनको वैज्ञानिकता प्रमाणित भैसकेको उल्लेख गरेको छ । उसले रुसी भ्याक्सिनको प्रयोगबाट कुनै पनि साइड इफेक्टहरु नदेखिएको र कोभिड–१९ का बिरामीहरुमा प्रभावकारी काम गरेको दाबी गर्दै आएको छ । अगस्ट ११ मा रुसको रुसको स्वास्थ्य मन्त्रालय मातहतको गमालिया नेशनल रिसर्च इन्स्टीच्यूट अफ इपिडिमियोलोजी तथा माइक्रो –बायोलोजीले यसलाई मान्यता दिएको थियो ।
एसिया, मध्यपूर्व, ल्याटीन अमेरिका, युरोप तथा कमनवेल्थ र स्वतन्त्र राष्ट्रहरु गरी ५० भन्दा देशले यो भ्याक्सिनको माग गरिसकेका छन् । ब्राजिलले ३ करोड २० लाख, भारतले ५ देखि १० करोड तथा उज्वेविकस्तनले ३ करोड ५० लाख भ्याक्सिनका लागि सम्झौता गरेको रुसी भ्याक्सिन उत्पादकले जनाएको छ ।