करिब साढे ५ अर्ब लागतको कालीगण्डकी करिडोरको काम शुरू

नवलपुर, २५ असोज । कोभिड–१९ महामारीका कारण गत चैतदेखि ठप्प रहेको कालीगण्डकी करिडोर निर्माण शुरू भएको छ । मुलुकको उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको रू. ५ अर्ब ४७ करोड लागतको कालीगण्डकी करिडोर अन्तर्गत गैंडाकोटदेखि पाल्पाको राम्दीसम्म (१३२ किलोमिटर)को काम अगाडि बढेको गौलीले बताए ।
करिडोरअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटदेखि पाल्पासम्मको सडकको काम शुरू गरिएको निर्माण कम्पनी आशिष निर्माण सेवाले बताएको छ । कोरोनाको संक्रमणको उच्च जोखिमका कारण सात महिनासम्म आयोजना ठप्प रहेकोमा हाल केही कामदार ल्याएर काम शुरू गरिएको कम्पनीका साइट इन्चार्ज कपिल गौलीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
उत्तर–दक्षिण लोकमार्ग (कालीगण्डकी करिडोर)अन्तर्गत अर्गली–रामपुर (पाल्प)–गैंडाकोट १३२ किमी, रिडी–गुल्मी–बाग्लुङ ८८ किमी, बाग्लुङ–बेनी–जोमसोम ८७ किमी, जोमसोम–कोरला १०५ किमी पर्छ । निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडले नेपालको गौली ग्रूप र आशिष निर्माण सेवालाई सडक निर्माणको लागि पेटी ठेक्का दिएको छ ।
राससका अनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटस्थित कालीगण्डकी चोकदेखि पाल्पा पिपलडाँडा राम्दीसम्मको १३२ किलोमिटर सडकको चौडाइ ११ मिटरको हुनेछ । निर्माण पक्षका साइट इन्चार्ज गौलीका अनुसार सो सडकमा सात मिटर कालोपत्र, एक÷एक मिटरको किनार तथा एक÷एक मिटरको नाला रहनेछ । ट्र्याक निर्माण सकिएको करिडोरको कालोपत्रको काम गत वैशाखबाट शुरू गर्ने तयारी गरिएको भए पनि कोभिड त्रासका कारण काम रोकिँदा एक वर्षपछि धकेलिएको आयोजनाले बताएको छ ।