Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

काठमाडौं चक्रपथ विस्तार योजना : दोस्रो चरणको विस्तारका लागि निर्माणस्थल खाली गराइँदै

काठमाडौं चक्रपथ विस्तार योजना : दोस्रो चरणको विस्तारका लागि निर्माणस्थल खाली गराइँदै

काठमाडौं, २६ असोज । काठमाडौं चक्रपथको दोस्रो चरणका विस्तारका लागि निर्माणस्थलमा रहेका संरचना छिट्टै हटाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङका अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल टेलिकम, सडक विभागलगायत कार्यालयका प्रतिनिधिसहित आइतवार सिंहदरबारमा भएको बैठकले कामलाई तत्काल गति दिन सम्बन्धित निकायसँगका समन्वयमा निर्माणस्थल खाली गराउने निर्णय गरेको राससमा उल्लेख छ ।
बैठकले एक महिनाभित्र बिजुलीका खम्बा स्थानान्तरण गर्ने, तीन महिनाभित्र ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गर्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन गर्नेलगायत निर्णय गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विगतमा विभिन्न बैठकमा भएका प्रतिबद्धतानुसार एक महिनाभित्र सबै खम्बा स्थानान्तरण गरी तार हालिने निर्णय भएको छ । आगामी तीन महिना (पुस मसान्तभित्र) कारखाना चोक र सानो भ¥याङस्थित ‘हाइ भोल्टेज टावर’ स्थानान्तरण गरिने भएको छ । काठमाडौं महानगरपालिकासँगका समन्वयमा स्वयम्भूस्थित चैत्य आगामी कात्तिक मसान्तभित्र हटाइने तथा काठमाडौं चक्रपथ सुधार योजनामार्फत नयाँ बसपार्कस्थित आकाशे पुल भत्काउने निर्णय भएको छ ।
राससका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी नारायणगोपाल चोक र महाराजगञ्जको सडक सीमामा रहेका जग्गाको मूल्यांकन गर्ने भएको छ । सडक सीमासम्बन्धी अन्योल हटाउन राजपत्र र कानूनी दस्तावेजको अध्ययन र थप परामर्श गरी सकेसम्म चाँडो नीतिगत निर्णय गर्न सडक विभागबाट पहल गर्ने पनि निर्णय भएको मन्त्रालयले बताएको छ ।
चक्रपथको पहिलो खण्डका रुपमा कोटेश्वर–कलङ्की सडक आठ लेनमा विस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड (कलङ्कीदेखि चाबहिल) सडक विस्तार गर्ने सहमति भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x