४० मेगावाटको अपर चमेलियाको निर्माण शुरू, २० महिनामै सम्पन्न गरिने
धनगढी, २ कात्तिक । ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरू भएको छ । दार्चुलाको दार्चुलाको मार्मा गाउँपालिका–२ घट्टेगाडमा बन्ने उक्त आयोजनाको काम शनिवार मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामी र अपी पावर कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले संयुक्तरूपमा शिलान्यास गरेसँगै शुरू भएको प्रवद्र्धक अपि पावर कम्पनीले जानकारी दिएको छ ।
निजीक्षेत्रबाट निर्माण शुरू गरिएको उक्त जलविद्युत् आयोजना सुदूरपश्चिम प्रदेशकै ठूलो भएको कम्पनीका सञ्चालक इन्द्रमणि त्रितालले बताएका छन् । २० महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित आयोजनाको निर्माण अघि बढाइएको उनले बताए । कुल लागत ७ अर्ब ४० करोड रुपैयाँ रहेको आयोजनामा ६ बैंक तथा वित्तीय संस्थाको ऋण लगानी छ ।
हिमालयन बैंकको अगुवाइमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंकले कुल लागतको ७० प्रतिशत (५ अर्ब १८ करोड) लगानी गरेका हुन् । ३० प्रतिशत (२ अर्ब २२ करोड रुपैयाँ) स्वपूँजी लगानी रहने कम्पनीले जानकारी दिएको छ ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बलाँचस्थित १३२ केभी सबस्टेसनमा जोडिनेछ । उक्त आयोजना प्राधिकरणले निर्माण गरेको ३० मेगावाट क्षमताको चमेलियाभन्दा करीब १३ किलोमिटर माथि पर्छ । आयोजना सम्पन्न भएपछि वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत् उत्पादन हुने सञ्चालक त्रितालले बताए ।
कम्पनीले यसअघि ८ दशमलव ५ मेगावाट क्षमताको नौगाड र ८ मेगावाट क्षमताको माथिल्लो नौगाड आयोजनाको निर्माण समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारणलाइनमा जोडिसकेको छ । अपर चमेलियाको निर्माणपछि कम्पनीले लगानी गरेका आयोजनाको कुल क्षमता ५६ दशमलव ५ मेगावाट पुग्नेछ ।