सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण ८० प्रतिशत सम्पन्न
लमजुङ, ३ कात्तिक । लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित निर्माणाधीन ५४ मेगावाट सुपरदोर्दी ‘ख’ आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको छ । पिपुल हाइड्रोपावर कम्पनीले जिम्मा लिएको सो आयोजना दोर्दी कोरिडोरकै सबैभन्दा ठुलो आयोजना हो । आगामी भदौबाट निर्माण कार्य सम्पन्न गरी राष्ट्रिय प्रसासरणमा लाइनमा जोडिने आयोजनाका साइड इञ्चार्ज रमेश सिग्देलको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
कुल रू. ८ अर्ब ८० करोडको लगानी रहेको आयोजनाको २२७ मिटर ठाडो पाइप (भर्टिकल साफ्ट) खन्ने काम सकिएको छ । इनक्लाप साफ्टको ४६३ मिटरमध्ये ७२ मिटर बाँकी रहेको छ । इलेक्ट्रोमेकानिकल, टनेल र पावर हाउसभित्र भवन बनाउने कार्य भइरहेको छ ।
आयोजनाको विसं २०७५ भित्रै व्यावसायिक उत्पादन मिति रहेकामा विसं २०७१ मा विद्युत खरीद सम्झौता (पिपिए) गरी २०७२ असोज महिनाबाट निर्माण थालनी भएको थियो । विनासकारी भूकम्प, भारतको नाकाबन्दी र दोर्दी खोलामा आएको बाढीका कारण ढिलाइ हुँदा निर्धारित समयमा हुन नसकेको बताइएको छ ।
आयोजनामा नविल बैंकको अगुवाइमा ९ बैंकले ऋण लगानी गरेका छन् । ७० प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धकको लगानीमा निर्माण हुँदै आएको छ । यसअघि ७० मेगावाटको मध्यमस्र्याङ्दी आयोजनाले जिल्लाकै पहिलो विद्युत उत्पादन थालेको थियो भने ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ लगायत आधा दर्जन आयोजनाले विद्युत उत्पादन गरिसकेका छन् ।