गति लिँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना
काठमाडौं, २२ कात्तिक । मुलुकको पहिलो आधुनिक सुरङमार्ग ‘नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ निर्माणले गति लिन थालेको छ । कोभिड–१९ का कारण कार्यतालिकाको निर्धारित अवधिभन्दा केही ढिला भएकोमा जापानी निर्माण कम्पनी हाजमा आङ्दो कर्पाेरेशनले सुरुङका लागि आवश्यक तयारी गरिरहेको र आगामी मङ्सिर ९ गतेदेखि खन्न शुरू गरिने बताइएको छ ।
सुरङ मार्ग निर्माणका लागि जनशक्ति र उपकरण दुवै भएकाले काम धमाधम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यको भनाइ उद्धृत गर्दै राससले उल्लेख गरेको छ । धादिङको सिस्तेखोलातर्फ सुरुङ खन्न आवश्यक तयारी भइरहँदा काठमाडौंको नागढुंगा (थानकोट)तर्फ पनि जग्गा अधिग्रहणलगायत काम अघि बढाइएको आयोजनाले जानकारी दिएको छ ।
हाल निर्माणस्थलमा आवश्यक पर्ने ९८ प्रतिशत उपकरण निर्माण कम्पनीले ल्याइसकेको छ । कतिपय निर्माणसामग्री यहीँबाट त कतिपय जापानबाट ल्याइएको छ । निर्माणस्थलमा २० जापानीसहित झण्डै २०० जना कार्यरत छन् । नेपालीमा कतिपय दक्ष र कतिपय अदक्ष गरी दुवै किसिमका जनशक्ति छन् । जापानबाट अझै झण्डै १५ जना आउन लागेको बताइएको छ ।
धादिङतर्फ अहिले जग्गा अधिग्रहण भइसकेको छ । निर्माणस्थलमा रहेका झण्डै १३ घरहरु भत्काउन बाँकी छ ।
आयोजनाअन्तर्गत साढे ९ मिटर र चार मिटर गरेर दुईओटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीनवटा सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् ।
गतवर्ष असोजमा कम्पनीको सडक विभागसँग ४२ महीनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबीसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ ।