नेपालको हवाई सुरक्षा दर ६७ प्रतिशत, यूरोपेली संघको उडान प्रतिबन्ध चाँडै हट्छ : मन्त्री भट्टराई
काठमाडौं, १३ मंसिर । नेपालको हवाई सुरक्षा दर करिब ६७ प्रतिशत रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ले बताएको छ, जुन अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघठन (आइकाओ)ले निर्धारण गरेको ६० प्रतिशतभन्दा बढी हो । एशिया प्रशान्त क्षेत्रका मुलुकको हवाई सुरक्षादर ६४ प्रतिशत रहेको बताइएको छ ।
प्राधिकरणले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को शुक्रवार सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले यूरोपेली संघ (ईयू)को सुरक्षा चासोअनुरूप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्न सक्ने दाबी गरे ।
मन्त्री भट्टराईले ईयूले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने विश्वास व्यक्त गरे । नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध लगाइराख्नुपर्ने कुनै कारण नभएको बताए ।
ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने उनको भनाइ छ । कानूनी प्रक्रिया पूरा गरी चाँडै नै ईयूको प्रतिबन्ध फुकुवा गरिने उनले उल्लेख गरे ।
यस्तै प्राधिकरण विभाजनसम्बन्धी विधेयक संसद्को राष्ट्रियसभामा पेश भई उक्त सदनको विधान समितिमा छलफल भइरहेको भन्दै उनले चाँडै छिट्टै प्रतिनिधिसभामा पनि विधेयक पेश गरिने बताए ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आइकाओको ग्लोबल एभिएसन सेफ्टी प्लानको ६० प्रतिशतभन्दा माथि नेपालको प्रगति रहेको र यो स्तर दरलाई ७५ प्रतिशत पु¥याउने लक्ष्यका साथ काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्राधिकरणले सन् २०१७ देखि एभिएसन सेफ्टी रिपोर्ट हरेक वर्ष सार्वजनिक गर्दै आएको छ । नेपाल हवाई उडान सुरक्षाको क्षेत्रमा प्रगतिशील र पारदर्शी छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि रिपोर्ट सार्वजनिक गर्ने गरिएको प्राधिकरणले बताएको छ ।