निर्वाचनका लागि आयोगले सरकारसँग माग्यो सात अर्ब सात करोड
काठमाडौं, २२ माघ । निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ मा घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार गरेको हो ।
विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुने गरी बजेट कार्यविधि तयार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उनले कोभिड महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा त्यसमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतालाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको जानकारी दिए ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बजेट व्यवस्थापनलगायतका विषयमा मंगलबार नै छलफल भएको थियो । आयोगले सोही छलफलका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि न्यूनतम कार्यका लागि मात्र बजेट माग गरेको हो ।
उक्त रकममा विगतका निर्वाचनमा प्रयोग गरी हाल रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको जानकारी दिँदै यसले गर्दा नयाँ सामग्री, उपकरण र सवारी साधन खरिदका लागि बजेटमा समावेश नगरेको जनाइएको छ।