चालु आर्थिक वर्षको ६ महिनामा राजस्व संकलनमा १.३९ प्रतिशतले कमी
काठमाडौं, ३० माघ । चालु आर्थिक वर्ष २०७७÷७८ को ६ महिनामा कर राजस्व संकलनमा १.३९ प्रतिशतले कमी आएको छ । गत आर्थिक वर्ष २०७६÷७७ को ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा कर राजस्व संकलनमा कमी आएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा ३ खर्ब ८६ अर्ब ५३ करोड ४२ लाख रुपैयाँ कर राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ९१ अर्ब ९८ करोड रुपैयाँ असुल भएको थियो । प्रथम ६ महिनामा राजस्व वृद्धिदर घट्नुमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई प्रमुख रुपमा लिइएको छ । वसम परिस्थितिका बाबजुत पनि गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भएको राजस्व संकलनको स्थिति सन्तोषजनक देखिएको अर्थमन्त्रालयको विश्लेषण छ ।
चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आयकरतर्फ ९९ अर्ब १४ करोड ७७ लाख संकलन भएको छ । यो रकम गत वर्षको सोही अवधिमा संकलन भएको राजस्वको तुलनामा ११.९५ प्रतिशतले कमी हो । संस्थागततर्फको आयकरमा २३.५८ प्रतिशतले कमी आएको छ । तर, आयकरतर्फ भने व्यक्तिगत आयकर र लगानी आयकरतर्फ क्रमशः ११.५१ र २८.२३ प्रतिशतले वृद्धि भएको छ ।