कोभिड संक्रमणको दर घट्दो, सक्रिय संक्रमित हजारभन्दा कम
काठमाडौं, १६ फागुन । पछिल्लो समय नेपालमा कोरोना महामारी तुलनात्मक रूपमा सामान्य बन्दै गएपछि संक्रमणको दर समेत घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकमा कोभिड संक्रमणबाट निको हुने दर भने ९८ दशमलव ६ प्रतिशत रहेको छ ।
यस्तै सक्रिय संक्रमितको संख्या घटेर हजारभन्दा तल ओर्लिएको छ । मन्त्रालयका अनुसार अहिले देशभर ९८६ जना मात्र सक्रिय संक्रमित छन्, जसमध्ये ६२ जना क्वारेन्टिनमा छन् ।
देशभर पछिल्लो २४ घण्टामा ८१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । सो अवधिमा २ हजार ८२४ को स्वाब परीक्षण गर्दा ३५ महिला र ४६ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
शनिवारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप ४८ निको भएका छन् । यससँगै निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ रहेको छ ।
हालसम्म देशभर २१ लाख ६० हजार ४०४ जनाको पिसिआर परीक्षण भएको छ । कोरोनाका कारण शनिवारसम्ममा दुई हजार ७७३ जनाले ज्यान गुमाएका छन् ।