उद्योग क्षेत्रमा घट्यो लगानी प्रतिबद्धता, एफडीआईमा पनि कमी
काठमाडौं, २४ फागुन । चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा मुलुकको उद्योग क्षेत्रमा आएको कुल लगानी प्रतिबद्धता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) दुवै घटेको छ ।
चालू आवको पुस मसान्तसम्ममा उद्योग विभागमा दर्ता भएका १०३ वटा उद्योगका लागि स्वदेशी एवं विदेशी लगानीकर्ताबाट ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ, जुन गत आवको सोही अवधिको तुलनामा करिब २० प्रतिशत कम हो ।
गत आवको अर्धवार्षिक अवधिमा १९० उद्योग दर्ता भएकोमा ९१ अर्ब ३१ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको थियो । सो अवधिमा छिमेकी मुलुक चीनबाट सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । चिनियाँ लगानीकर्ताले १०३ वटा उद्योग स्थापनाका लागि १८ अर्ब ११ करोड लगानीको प्रतिबद्धता गरेका हुन् ।
सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा पनि कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा ८ अर्ब ५ करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको छ । गत आवको अर्धवार्षिक अवधिमा यो.१२ अर्ब २५ करोड रुपैयाँ बराबरको थियो ।
चालू आवको ७ महिनामा भने लगानी प्रतिबद्धता रकममा सुधार आएको छ । सो अवधिमा ८२ अर्ब ३३ रुपैयाँको प्रतिबद्धता आएको छ । उक्त तथ्यांक लगानी प्रतिबद्धता एक महिनामै ९ अर्ब ७१ करोड रुपैयाँले बढेको देखिन्छ । माघ मसान्तसम्मा कुल ११९ नयाँ उद्योग स्थापनाका लागि उक्त लगानी प्रतिबद्धता आएको र उद्योग स्थापनापछि ६ हजार ९०४ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।