पर्साको सखुवा प्रसौनीमा सेञ्चुरी बैंकको शाखारहित बैंकिङ सेवा
काठमाडौं, २४ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ देवरवानामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
प्रदेश २ का विधायक मन्जुर आलम र सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले शनिवार शाखा रहित बैंकिङ सेवाको संयुक्त रूपमा शुभारम्भ गरेका हुन् । उक्त अवसरमा अध्यक्ष जयसवालले पर्सा जिल्लाको पुरानो बजारको रुपमा रहेको देवारवानामा शाखा रहित बैंक सेवाबाट स्थानीय जनताले वित्तीय सेवा प्राप्त गरी आर्थिक समृद्धिमा मद्दत पुग्ने बताए ।
कार्यक्रममा बैंैकका प्रदेश नं २ का प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखाका प्रमुख सुरेश साहका साथै बैंकका अन्य कर्मचारी र स्थानीय गरेर १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । शाखारहित बैंकिङ सेवामा निक्षेप संकलन, रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध हुनेछन् । बैंकले आफ्ना १२० शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखा रहित बैंकिङ र ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।